काठमाडौँ । राजधानीका बस्दै आएका विभिन्न व्यक्तिसँग ८ करोड २५ लाख रकम ठगी गरेको आरोपमा नेपाली काँग्रेस महासमिति सदस्य कृष्णमुरारी गुरुङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गुरुङलाई ठगी मुद्दामा पक्राउ गरी शुक्रबार मात्रै सो घटना सार्वजनिक गरेको हो । कृष्णमुरारीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए ।
सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका गुरुङले आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनले आफ्नो नाममा मुद्दा परी सम्पूर्ण जायजेथा रोक्का भएको भन्दै पटक–पटक गरी सुरेश केसीसँग नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन लिएका थिए ।
त्यस्सैगरी २०७४ सालको असोज महिनामा देउबहादुर गुरुङसँग ३० लाख रुपैयाँ लिएको पनि प्रहरीले जनाएको छ । त्यस्तै उनले गाडी बिक्री गर्न २० लाख चाहिने भन्दै सरिता गुरुङसँग २० लाख रुपैयाँ लिएको पनि पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीले उनलाई ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्धा चलाउने भएको छ ।
गुरुङ गत प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली–१ बाट उम्मेदवारको दाबेदार भए पनि कांग्रेसले श्यामकुमार घिमिरेलाई टिकट दिएको थियो । त्यस्तै गुरुङले अखिल नेपाल फुटबल संघ(एन्फा) को गत असारमा भएको निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । तर पछि उनले उम्मेदवारी फिर्ता लिए । उनले ’हाम्रो नेपाल’ नामक फुटबल समर्थक संस्था पनि चलाउँछन् ।