काठमाडौँ । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखेपछि उक्त उडान स्थगित गरिएको छ ।
सो जहाज जनकपुरबाट काठमाडौँ उड्नै लाग्दा यात्रुले जहाज भित्र एक मुसा देखेपछि उडान रोकिएको हो । हाल इन्जिनियरहरुले जहाज मर्मत गरिरहेका छन् । आज बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
उक्त जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर धावनमार्गमा अवतरण गरेको थियो । सो जहाजमा ४९ यात्रुहरु सवार थिए । प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौँबाट इन्जिनियर सहितको टोली जनकपुर पठाइसकिएको र जहाज मर्मतपछि प्राविधिक परीक्षण गरेपछि मात्रै उडानको अनुमती प्रदान गरिने बताए ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार बुद्ध एयरको जहाजमा मुसा देखिएपछि अहिले उक्त जहाजको इन्जिनियरले चेकजाँच गर्ने काम गरिहेको र प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा ल्याइने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णले जानकारी दिए । जनकपुरबाट काठमाण्डौं आउने यात्रुलाई अर्को जहाजको व्यवस्थापन गरी ल्याइसकिएको पनि उनले बताए ।