प्रभावित १६ घरधुरीलाइ सुरक्षित स्थानमा सारियो

रामेछाप । उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन लिखु–२ जलविद्युत् आयोजनाले सुरुङबाट पानी चुहिएर प्रभावित भएका ४२ घरमध्ये १६ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।

आयोजनाका कर्मचारीले जिल्ला प्रशासन कार्यालय रामेछापमा गरेको सहमति अनुसार अति जोखिममा परेका घरधुरीलाई सुरक्षित ठाउँमा सारेको आयोजनाले जनाएको छ । उनीहरूलाई आयोजनाले अस्थायी बसोबास र खानाको व्यवस्था गरेको छ । ५५ मेगावाट क्षमताको आयोजनाको उत्पादन गृहमा पानी खसाली परीक्षण गर्ने क्रममा सुरुङको पानी चुहिएर बस्तीमा पसेको हो । सुरुङभन्दा तलको बस्तीमा घर आसपासमै पानी आएपछि विस्थापितहरूलाई अस्थायी बसोबासको व्यवस्था गरेर अध्ययन थालेको जनाएको छ ।

सुरुङको पानी बस्तीमा पसेपछि स्थानीयले उक्त पानी रोक्न पटक–पटक माग गरेपनि आयोजनाले अटेर गर्दै आएको थियो । आयोजनाले अटेर गरेपछि स्थानीयले आयोजनामै तालाबन्दी गरेका थिए । पछि जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोधमा विद्युत् विभागले सुरुङमा पानी पठाउने काम रोक्न निर्देशन दिएपछि उक्त सुरुङ्ग भित्र हालिएको पानी हाललाई रोक्का गरिएको छ ।

अहिले आयोजनाले सुरुङमा पानी पठाउन बन्द गरेको भए पनि सुरुङ खाली भने गराएको छैन । सुरुङको पानी बस्तीमा धेरै ठाउँबाट निस्किएकोले आफूहरूलाई अन्यत्र बसोबासको व्यवस्था गर्न माग गरेको स्थानीय सुवास बस्नेतले बताए । सुरुङबाट पानी चुहिएको बारेमा अध्ययन गर्न विद्युत् विभागले विज्ञ टोली गठन गरेर रामेछाप पठाएको छ । विज्ञ टोलीले आज बुधवार प्रभावित क्षेत्रमा पुगेर काम सुरु गरेको छ ।

Scroll to Top