
रामेछाप । मन्थली नगरपालिका–१२ गेलु सिक्रालका नागरिक एक गाग्री पानीको लागि रातभरको निन्द्रा नै माया मारेर पँधेरामा पालो कुरेर बस्ने गरेका छन् ।

घर वरपर भएका खानेपानीका सबै मुहान एकपछि अर्को गर्दै सुकेपछि गेलु सिक्रालका नागरिकलाई यतिखेर कसरी पिउने पानीको व्यवस्थापन गर्नु भन्ने पिरलो रहेको छ । गाउँमा भएका पानीको मुहान सुक्यो । अहिले सिमल बोटे पँधेरो एक मात्रै विकल्प गेलु सिक्रालका नागरिकसँग रहेको छ । त्यहाँ पनि प्रयाप्त पानी छैन् । एक गाग्रो पानी भरिन घण्टौं लाग्छ । त्यही पनि त्यहाँ जो अघि पुग्छ उसैले पालो पाउने भएपछि त्यहाँका उपभोक्ता एक गाग्रो पानीको लागि रातभरी पँधेरोमा नै रात विताउन वाध्य छन् ।

पानीकै समस्याका कारण त्यहाँका बालबालिकाहरु नियमित विद्यालय समेत जान पाएका छैनन् । पानीको लागि पँधेरोमा पालो कुर्न जानु पर्छ । समयमा पालो आउँदैन जसका कारण धेरै दिन विद्यालयको पढाई नै छाड्नु परेको स्थानिय मञ्जु अछामी बताउँछिन । मञ्जु मात्र हैन त्यस गाउँमा बसोवास गर्ने ४० घरधुरीकै समस्या हो यो ।
जलवायु परिर्वतनको असरका कारण यसअघि भएका खानेपानीका मुहानहरु सुक्दै गएपछि अहिले गेलु बासिलाई खानेपानीकै चिन्ता रहेको छ । मान्छेलाई त दुःख सुख पानी पुर्याउँदै आएका त्यहाँका उपभोक्ताहरु घरमा पालिका पशु चौपायालाई कसरी पानी पुर्याउने भन्ने चिन्ता अर्कोतिर रहेको छ । गाउँमा पालिएका चौपायाहरुले पेटभरी पानी समेत खान पाएका छैनन् । मान्छेलाई त पानीको समस्या छ घरमा पालेको वस्तुलाई कसरी पानी खुवाउनु धेरै समस्या भएको स्थानिय बुद्धिवहादुर अछामी बताउँछन् ।
बिगत वर्षहरुमा सिमल बोटे पँधेरोमा पानी प्रशस्त उम्रन्थ्यो । यसवर्ष वढी मात्रामा खडेरी परेका कारण उक्त कुवाको पानी सुकेपछि त्यहाँका स्थानियहरु मारमा परेका हुन् । गाउँमा भएको एउटा पानीको मुहान पनि सुक्यो । नजिकै गाउँमा अर्को पानीको मुहान समेत छैन । अब तामाकोशी नदिको पानी लिफ्ट सिस्टम मार्फत गाउँमा ल्याउनुको विकप्प अर्को नरहेको मन्थली नगरपालिका–१२ गेलुका वडा अध्यक्ष खिलेन्द्र वहादुर खत्रीले जानकारी दिए ।
उनले भने– वडाले खानेपानीलाई नै पहिलो प्राथमिकतामा राखेर तामाकोशी नदीको पानी लिफ्ट गरी गाउँमा पुर्याउने योजना अघि सारेका छौं । नदीको पानी गाउँमा ल्याउन टेण्डर आव्हान भएर काम शुरु गरेको भएता पनि निमार्ण व्यवसायीले काम बिचमै अलपत्र पारेर छाडेपछि उक्त योजना अलपत्र अवस्थामा रहँदा गेलु सिक्रालका नागरिकले अझै खानेपानीको समस्या झेल्नु पर्ने अवस्था देखिएको अध्यक्ष खत्रीले बताए ।
पछिल्लो केही वर्षदेखी गाउँमा भएका खानेपानीका मुहानहरु सुक्दै गएपछि नदी र खोलाको पानी विद्युतीय माध्यममार्फत तानी नागरिकहरुले प्रयोग गर्दै आएका छन् । अहिले तामाकोशी, सुनकोशी लिखु नदी र अन्य ठूला खोलाको आसपासमा भूमिगत इनार निमार्ण गरी उक्त इनारमा जम्मा भएको पानी विद्युतीय माध्यमवाट डाँडामा पुर्याएर रिजर्भट्याङ्कीमा जम्मा गरि वितरण गरिदै आएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी तथा सरसफाइ डिभिजन नं ४ ले खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ ।
यता मन्थली नगरपालिकाले पहिलो प्राथमिकतामा खानेपानी नै राखेर काम गरिरहेको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले जानकारी दिए । उनले भने– आफ्नो कार्यकालभरी सवै नागरिकको घरघरमा खानेपानीको धारा पुर्याउने योजना अघि सारेर काम अघि बढाइएको छ ।