रामेछाप । नगरपालिका भित्र व्यवसायीक रुपमा मौरीपालन गर्ने किसानलाई मन्थली नगरपालिकाले सक्दो सहयोग गर्ने मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ बताएका छन् ।
सो कुरा उनले सदरमुकाम मन्थलीमा संचालित ५ दिने निःशुल्क व्यवसायीक मौरीपालन तालिमको समापन कार्यक्रममा बताएका हुन् । उनले तालिममा सहभागीहरुले सिकेको सिपलाई व्यवहारमा उर्तान सके आम्दानीको श्रोत खोज्न अन्त कतै जानु पर्दैन । तालिम लिएकाहरुले व्यवसायीक रुपमा मौरीपालन गर्छु भनेर शुरु गर्नुस् त्यसको लागि नगरले आवश्यक सहयोग गर्न तयार रहेको प्रमुख श्रेष्ठले बताए ।
घरेलुु तथा साना उद्योग महासंघ रामेछापको आयोजनामा भएको उक्त तालिमको आर्थिक सहयोग मन्थली नगरपालिकाले गरेको थियो । तालिममा नगरपालिकाका १४ वटै वडाबाट प्रतिनिधित्व हुने गरी २५ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुले ५ दिनको तालिम अति उपलव्धी भएको भन्दै आफुुले सिकेको सिप व्यवहारमा उतार्ने व्यवसायीक मौरीपालक बन्न सक्षम भएको बताएका थिए । उनीहरुले नगरपालिकाले आवश्यक औजार र मौरीको घार उपलव्ध गराइदिन आग्रह समेत गरेका थिए ।
तालिम समापन कार्यक्रम घरेलु तथा साना उद्योग महासंघ रामेछापका अध्यक्ष चन्द्र बहादुर मानन्धरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वोल्दै अध्यक्ष मानन्धरले सहभागीहरुले मह उत्पादन गरे सबै मह आफुले नै खरिद गरिदिने प्रतिवद्धता समेत उक्त कार्यक्रममा गरेका थिए ।