सार्वजनिक सुनुवाई कार्यक्रममा हानाहान,अध्यक्ष श्रेष्ठ मञ्च छाडेर भागे

रामेछाप । खाँडादेवी गाउँपालिकाले बुधवार गाउँपालिकाको सभाहलमा गरेको सार्वजनिक सुुनुवाई कार्यक्रममा हानाहान भएपछि पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ मञ्च छाडेर भागेका छन् ।

पालिकाले चालु आर्थिक वर्षमा गरेका कामको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम संचालन पश्चात वडा नं ६ माकादुमका नागरिकहरुले पालिकाले रातोकितावमा निकालेको वजेट पालिका अध्यक्षले रोकेको बिषयमा एक सहभागीले जिज्ञासा राखेका थिए । सोही बिषयलाई लिएर गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले म पालिका अध्यक्ष बोल्दै छु “त चुप लाग” भनेर प्रश्नकर्तालाई थर्काएपछि सोही बिषयलाई लिएर माकादुमका नागरिकले गाउँपालिकाका अध्यक्षको दादागिरी भएको भन्दै होहल्ला गर्दै नारावाजी समेत गरेका थिए ।

गाउँपालिकाले माकादुम वडाको सडक निमार्णको लागि २७ लाख रुपैयाँ रकम विनियोजन गरे पनि पालिका अध्यक्ष श्रेष्ठले रकम रोकेपछि माकादुमका नागरिक आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सार्वजनिक सुनुवाई कार्यक्रमको अतिथि वसेको स्थानमा पानीको वोतल समेत हानेका थिए । नागरिकहरु मञ्चतीर जान लाग्दा प्रहरीले रोकेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भएका नागरिकहरुलाई पालिका अध्यक्षले प्रहरी लगाएर धरपकड गरेको भन्दै अध्यक्ष श्रेष्ठ विरुद्ध नारावाजी समेत गरेका थिए ।

नागरिकहरुले ज्ञानकुमार श्रेष्ठ मुर्दावाद, पालिकाकाको अध्यक्ष पदबाट राजिनामा दे, पालिका प्रमुख मुर्दावाद जस्ता नारा लगाएर होहल्ला गरेपछि कार्यक्रम स्थलवाट अध्यक्ष श्रेष्ठ भागेर आफ्नो कार्यकक्षमा पुगेका थिए । आन्दोलनमा उत्रिएका आक्रोसित भिडलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय चोप्राङ्गको टोली परिचालन समेत गरिएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले आफ्नो पालिकामा भएका विकास निमार्ण लगाएका बिषयमा हाकाहाकी प्रश्न राख्न पाउने र त्यसको उत्तर जिम्मेवार वक्ताहरुले दिनुपर्ने हो । तर नागरिकले सोधेको प्रश्नको उत्तर दिनुको सट्टा गाउँपालिका अध्यक्ष श्रेष्ठले तल्लो स्तरमा झरेर प्रश्नकर्तालाई गालीगलौज गर्दा सार्वजनिक सुनुवाई कार्यक्रम हुलदंगामा परिणत हुन पुगेको र उक्त हुलदंगामा केही नागरिकहरु घाइते समेत भएको खाँडादेवी गाउँपालिका–६ माकादुमका सौरभ केसीले जानकारी दिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आएका माकादुमका स्थानिय र गाउँपालिका अध्यक्ष विच कुरा नमिल्दा ३ घण्टा सार्वजनिक सुनुवाई कार्यक्रम रोकिएको थियो । कार्यक्रममा भेला भएका नागरिकहरु गाउँपालिकाको प्राङ्गगणमा नाराजुलुसमा निस्किएपछि गाउँपालिका अध्यक्ष श्रेष्ठ आफ्नो कार्यकक्षबाट बाहिर निस्कन समेत सकेनन् ।

पछि गाउँपालिकाका पदाधिकारी र स्थानिय बिच पालिकाले रातोकितावमा छुट्टाएको वजेटलाई निरन्तरता दिने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाएपछि रोकिएको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विधि र प्रक्रिया पुरा गरी गाउँपालिकाको सभावाट पारित गरी रातो कितावमा परेको वजेट अध्यक्ष श्रेष्ठले रोकेर आफुखुशी अन्यत्र खर्च गरेपछि स्थानियहरु बाध्य भएर सर्घषमा उत्रनु परेको सो कार्यक्रममा सहभागी अर्का सहभागी सन्दीप कार्कीले जानकारी दिए ।

यस बिषयमा पालिका अध्यक्ष श्रेष्ठ सँग प्रतिक्रिया लिन पटकपटक टेलिफोन गर्दा उनको टेलिफोन उठेन ।

Scroll to Top