उमाकुण्डका १६५ पसलको अनुगमन

रामेछाप । पछिल्लो समय म्याद गुज्रेका सामाग्रीहरु गाउँगाउँमा छ्याप्छयाप्ती पाउन थालेको गुनासो उपभोक्ताहरुबाट आएपछि उमाकुण्ड गाउँपालिकाले पालिका भित्रका १६५ वटा पसल तथा होटलको अनुगमन गरेको छ ।

उमाकुण्ड गाउँपालिका उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समितिको संयोजक सावित्री सुनुवारको नेतृत्वमा निस्किएको अनुगमन टोलीले ७ वटै वडाहरुमा संञ्चालन भएको होटल तथा पसलको अनुगमन गरेको हो । जेष्ठ २१ गते वडा नं ७ भुजीको बजार क्षेत्रबाट शुरु गरिएको अनुगमन जेष्ठ २६ गते वडा नं १ गुम्देलमा सम्पन्न भएको छ ।

अनुगमनको क्रममा विभिन्न खाद्यान्न पसलबाट म्याद गुज्रिएका अखाद्य खानेकुरा बरामद गरेको छ । त्यस्तै कस्मेटिक तथा हार्डवयर र औषधि पसलबाट बरामद गरेको विभिन्न म्याद गुज्रिएको सामानहरू समेत नष्ट गरिएको छ । अनुगमनको क्रममा म्याद गुज्रिएको अखाद्य वस्तु विक्रि गर्ने, मूल्यसूची तथा वोर्ड नराख्ने र नियम विपरितका कार्य र कारोवार गर्ने व्यवसायीहरूलाई जरिवाना समेत गरेको छ ।

व्यवसाय दर्ता नगरि सञ्चालन गरिरहेको व्यवसायीहरूलाई दर्ताको लागी लाग्ने शुल्क स्थलगत रूपमा अनुगमन समितिले संकलन गरिएको थियो । त्यस्तै अनुगमनको क्रममा व्यवसायीलाई गरिएको जरिवाना र नयाँ पसल दर्ता शुल्क समेत गरी कुल १ लाख २ हजार ७ सय राजश्व रकम संकलन गरि गाउँपालिकाको आन्तरिक राजश्व खातामा दाखिला गरिएको अनुगमन समितिका संयोजक एवं उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिइन ।

उनले भनिन्– नेपालको उपभोक्ता सम्वन्धि कानून उपभोक्ता मैत्री भएता पनि उपभोक्ताहरू ठगिरहेको गुनासो तिव्र रूपमा बढिरहेकाले आगामी दिनमा पनि उपभोक्ताको स्वास्थ्य र उपभोक्ता अधिकारलाई मध्यनजर गरि बजार अनुगमन कार्यलाई निरन्तरता दिने अनुगमन समितिकी संयोजक सुनुवारले बताइन ।

Scroll to Top