ओली सवार हेलिकप्टर कालिञ्चोकमा अवतरण गर्न नसकेपछि पूर्वपर्यटनमन्त्री पोखरेलले गरे चौंरी महोत्सवको उद्घाटन

Posted on: August 06, 2017 | views: 3956

दोलखा, २२ साउन २०७४– दोलखाको प्रसिद्ध मन्दिर कालिञ्चोकको फेदीमा आजबाट पहिलोपटक चौंरी महोत्सव सुरु भएको छ । समग्र दोलखाको कृषि, पशुपालन, जैविक विविधता, पर्यटन तथा धार्मिक स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले सरकारीस्तरबाटै आयोजना गरिएको मुलुककै दोस्रो चौंरी महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्यन पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले चिज काटेर उद्घाटन गरेका छन् । 

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा चौंरीगाईको दूध दुहुँदै महोत्सवको उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि प्रतिकुल मौसमका कारण दोलखामा हेलिकप्टर अवतरण हुन नसकेपछि ओली उडानको बीच बाटोबाटै काठमाडौं फर्किएको आयोजकले जानकारी दिएको छ । 

मुख्य आयोजकसमेत रहेको जिल्लाको कालिञ्चोक गाउँपालिका प्रमुख बिनकुमार थामीले दिएको जानकारी अनुसार पूर्वप्रधानमन्त्री ओली चढेको हेलिकप्टर कालिञ्चोक (महोत्सवस्थल) मा अवतरण हुन नसकेपछि पूर्वपर्यटनमन्त्री एवम् सोही क्षेत्रका सांसद आनन्दप्रसाद पोखरेलले महोत्सवको उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री पोखरेलले कालिञ्चोक गाउँपालिकासहित दोलखाका कृषकका लागि गाईपालनको पकेट क्षेत्र बनाउनुपर्नेमा जोड दिएका छन् । उनले महोत्सवबाट कृषि र चौंरी पालक किसानलाई मात्र होइन दोलखाको समग्र पर्यटन क्षेत्रको पनि प्रवद्र्धन भएको विश्वास व्यक्त गर्दै कालिञ्चोक क्षेत्रमा चौंरी तथा याक प्रजनन केन्द्रको स्थापना गरिने बताएका छन् । 

सो अवसरमा पूर्वमन्त्री पोखरेलले धार्मिक विश्वासले प्रसिद्ध कालिञ्चोक मन्दिरको निर्माणको लागि आफूले ठोस पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘आज हामी कालिञ्चोक भगवतीको काखमा उभिएर यो महोत्सवको सुरुवात गरिरहेका छौँ, तर भगवतीको मन्दिरको विकास गर्न भने हामीले सकेका छैनौँ,’ पोखरेलले भने ‘अब कालिञ्चोक मन्दिर निर्माणको लागि हामी ठोस पहलमा जुट्नेछौँ ।’

कालिञ्चोक धेरै विशेषताले भरिपूर्ण गाउँपालिका भएको भन्दै उनले यो क्षेत्रमा याक पर्यटनलाई विकास र विस्तार गरेर समृद्धिको यात्रा तय गर्न सकिने सम्भावना रहेको पनि बताएका छन् । 

कार्यक्रममा विशेष अतिथिको रुपमा दोलखा निर्वाचन क्षेत्र नं. १ का सांसदद्वय पशुपति चौलागाई र पार्वत गुरुङको उपस्थिति रहेको थियो । उनीहरुले कालिञ्चोक गाउँपालिकाले गरेको चौंरी महोत्सवबाट दोलखाको पर्यटन प्रवद्र्धनमा सहायक सिद्ध हुने विश्वास व्यक्त गरेका छन् । जलस्रोत, कृषि, पर्यटन र जैविक विविधतायुक्त दोलखाको समृद्धि खोज्न बाहिर कतै जानुनपर्ने भन्दै सांसद पशुपति चौलागाईले ‘स्रोतको समुचित सदुपयोग गर्दै जिल्लालाई आर्थिकरूपमा बलियो बनाउन सबै राजनीतिक दल एकताबद्ध भएर लाग्नुपर्र्नेमा जोड दिएका छन् । 

कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका प्रमुख विनकुमार थामीले किसानलाई प्रोत्साहित गर्न उत्कृष्ट चौंरीको छनौट र चौंरीपालक कृषकलाई पुरस्कार, किसान कार्ड वितरण र कृषि अनुदान दिने कार्यक्रम घोषणा गरेका छन् । 

कार्यक्रममा जिल्लाका राजनीतिक दलका नेता, कृषिसँग सम्बन्धित व्यक्ति तथा संस्थाका प्रतिनिधिहरु, विभिन्न गाउँपालिकाका प्रमुख उपप्रमुख र सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम प्रतिनिधि तथा छिमेकी जिल्ला र काठमाडौंबाट आएका नवआगन्तुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

महोत्सवको सह–आयोजकमा छिमेकी विगु गाउँपालिका र जिल्ला पशु सेवा कार्यालय दोलखा रहेका छन् । त्यस्तै सहयोगीहरूमा डिभिजन सडक कार्यालय, रणभीम गण (नेपाली सेना), जिल्ला प्रहरी कार्यालय, जिल्ला कृषि विकास कार्यालय र कालिञ्चोक दर्शन प्रा.लि. रहेका छन् । 

जिल्ला प्रशान कार्यालय दोलखा र जिल्ला समन्वय समिति दोलखा तथा भीमेश्वर नगरपालिकाकोसमेत विशेष समन्वय महोत्सवमा रहेको छ । 

करिब ४८ वर्गमिटर जंगली क्षेत्र रहेको उक्त गाउँपालिकाको करिब २५०० देखि ३८०० मिटरको उचाईमा घुमफिर गर्दै गोठ सारेर चौंरीपालकहरूले यो व्यवसाय गर्दै आएका छन् । कुरी क्षेत्रमा हाल जिल्लाको भीमेश्वर नगरपालिका लाकुरीडाँडा, वोच, सुष्पाक्षमावति, कालिञ्चोक गाउँपालीकाको कालिञ्चोक, लापिलाङ्ग सुन्द्रावतीका माथिल्लो भेगका विशेष गरी शेर्पा, थामी र तामाङ जातीले चौँरी पाल्दै आएका छन । 

दोलखामा आयोजना भएको यो महोत्सव दोलखाको पहिलो र देशकै दोस्रो भएको आयोजकले दाबी गरेका छन् । अघिल्लो वर्षको वैशाखमा पाँचथरको प्राङबुङमा चौरी पर्यटन महोत्सवको आयोजना गरिएको थियो ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com