सिन्डकेटको अवसानपछि के गर्ने ?

Posted on: June 11, 2018 | views: 118

हरिप्रसाद रिमाल

इन्दे्रको बाबु चन्द्रेले पनि बचाउन सक्तैन अब यातायात क्षेत्रको सिन्डिकेटलाई । सीमित स्वार्थ भएका यातायात व्यवसायीबाहेक यसको समर्थनमा चरो र मुसो पनि छैन । सबै नेपाली जनता यसको विरोधमा छन् । सञ्चार जगत्ले जनता र सरकारलाई साथ दिइरहेका छन् । प्रतिपक्षी नेपाली काङ्ग्रेसले समेत मौन साधना गरेरै पनि सिन्डिकेट हटाउने कुराको समर्थन गरेको हुनुपर्छ ‘मौनं सम्मति लक्षणम् । ’

हडतालका लामै यात्रामा हिँडेजस्ता देखिएका यातायात व्यवसायीले पनि दुई दिन न्वारानदेखिको बल झिकेर जनतालाई दुःख दिएपछि थाकेर हो कि अनाहकमा जनतालाई सास्ती दिएकामा पश्चात्तापले पानी–पानी भएर हो कि, वर्तमान संंविधान र कानुनमा भएको कडा व्यवस्थाले झस्केर हो कि पहरोजस्तो सरकारसँग कुइनाजस्ता आफूहरूको केही सीप नलाग्ने ठानेर हो कि हडताल फिर्ता लिएर वार्तामा बोलाउन सरकारसँग अनुनयविनय गरे । 

यो फलाम मज्जैसँग तातेको, पग्लिएको बेला हो । यसको प्रयोग उचित ढङ्गले हुन सक्यो भने धेरै राम्रा सामान बनाउन सकिन्छ जनताका लागि । निश्चय नै वर्तमान सरकार बलियो छ र दृढसङ्कल्पित पनि छ । सबैको साथ पाएको यो स्वर्णीम अवसरमा यातायात क्षेत्रको सिन्डिकेट र एकाधिकार सधैँका लागि अन्त्य हुन सक्यो भने यो ऐतिहासिक र सुन्दर काम हुनेछ ।

सिन्डिकेट हटेपछि के गर्नुपर्ला 

यसभन्दाअघि यातायात क्षेत्रमा सिन्डिकेटको अवसानको कुरा गरिएको थियो । त्यो त अब कुनै हालतमा नरहने नै भयो । ‘अन्नपूर्ण पोस्ट’मा छापिएको गृहमन्त्री रामबहादुर थापाको अन्तर्वार्तामा पनि यातायातमा सिन्डिकेट एवम् एकाधिकारको अन्त्य भएरै छाड्ने दृढसङ्कल्प अभिव्यक्त भएको छ । 

अब त्यसपछि के हुन्छ, जनताले सिन्डिकेट र एकाधिकार हटेपछि कस्तो यातायात सुविधा पाउनुपर्छ, यो अत्यन्त गम्भीर र गहकिलो प्रश्न हुन सक्छ । यसका लागि सम्बन्धित क्षेत्रका अनुभवी र विज्ञहरू सम्मिलित बृहत् गोष्ठी नै गरेर रायसुझाब सङ्कलन गरिनुपर्छ र सोहीअनुसार यातायातका साधनहरूको स्तर निर्धारण गरी सञ्चालन गराउनुपर्छ । जनतालाई राम्रो र आरामदायी यातायात सुविधा दिने देशहरूको अध्ययन भ्रमण गरे–गराएर पनि यसमा परिवर्तन गर्ने अनुभव र प्रविधि हासिल गर्न सकिन्छ । 

अहिले काठमाडौंमा काम नलाग्ने भएका जर्जर र थोत्रा सवारीसाधनहरू हिमाल, पहाड र तराईका अनकन्टार ग्रामीण भेगमा लगेर चलाई पैसा कमाउने मेलो व्यवसायीहरूले गरिरहेका छन् । एक त कच्ची सडक र त्यसमा पनि थोत्रा सवारी साधन र त्यसमा पनि अझ गुन्द्रुक खाँदेझँै मानिस राखेर गुडाउने गरेकाले धेरै दुर्घटना हुने गरेका छन् । अतः त्यस प्रकारका सवारीसाधन तुरुन्त हटाइनुपर्छ ।

त्यस्ता थोत्रा सवारीसाधन हटाएपछि राजधानी र देशका अन्य भेगमा निजी क्षेत्र र साझा यातायातजस्ता संस्थासँग समन्वय गरी जनतालाई स्तरीय यातायातको सुविधा सरकारले दिनुपर्छ । त्यसो गर्न नसके सरकारी तवरबाटै गुणस्तरयुक्त सार्वजनिक सवारीसाधनको सुविधा सरकारले नै जनतालाई उपलब्ध गराउनुपर्छ । जसरी हिमाल, पहाड, तराई–मधेसका जनता संविधान र कानुनका दृष्टिमा समान छन्, त्यसरी नै यातायातका साधन पनि सबै जनताका लागि समान गुणस्तरको हुनैपर्छ । 

उमेरले कुप्रिएका बूढाबूढीले मात्र होइन कि तन्नेरी र तरुनीहरूले समेत कुप्रिएर यात्रा गर्नुपर्ने होचा र कष्टदायी माइक्रोबसहरूलाई यथाशीघ्र बिदा गरिनुपर्छ । 

यातायात व्यवसायी, चालक, सहचालक र खलाँसीहरूलाई समेत शिष्टता, भद्रता, सभ्यता र नम्रताको अनुशिक्षण बारम्बार दिएर र विवेकी हुने कडा निर्देशन जारी गरेर पनि जनतासँग तिनले गर्ने व्यवहारमा आमूल परिवर्तन ल्याउनुपर्छ ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com