हमालसहित विभिन्न व्यक्तित्व अभिनन्दित

Posted on: September 06, 2017 | views: 819

काठमाडौं । ब्लुरेन एजुकेशन फाउन्डेशनले वाग्लुङका समाजसेवी तथा पुराना पत्रकार बलराम हमाल ठकुरीलाई अभिनन्दन गरेको छ । वाग्लुङ र पर्वत जिल्लाका विभिन्न सामाजिक र शैक्षिक गतिविधिमा योगदान गरेका हमाल वाग्लुङको सदरमुकाम (तत्कालिन वाग्लुङ गाउँ पञ्चायत) का प्रधानपञ्च समेत गरिसकेका छन् ।  हिजो काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उनी लगायत समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने शिक्षासेवी, खेलाडी, समाजसेवी, राष्ट्रसेवक कर्मचारी र साहित्यकारहरुलाई अभिनन्दन गरेका छन् ।


गीतकार वुद्धवीर लामाको सातौ गीतिमय साँझ २०७४ का अवसरमा हमालका साथै शिक्षासेवीद्वय इन्दिरा याक्थुम्वा, डा. बाबुराम पोखरेल, साहित्यकार तथा पत्रकार डा. नवराज लम्साल, इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर (आरबी) राई, शिक्षासेवी रविनदास श्रेष्ठ (काठमाडौं) र रामचन्द्र महतो कुशवाहा (सर्लाही) र हङकङस्थित नेपाली व्यवसायी तथा समाजसेवीहरु मिरा राई र अल्ट्रा धावक भीमबहादुर गुरुङ (दाङ) लाई सम्मान प्रदान गरिएको थियो ।
सो अवसरमा छवि सुवेदी र रेवतिरमण तिमल्सिनालाई इमान्दार कर्मचारीका रुपमा निजामति कर्मचारी  सम्मान प्रदान गरिएको थियो भने नेपालको खेलकुद इतिहासमा पचासौ वर्षअघिदेखि खेलाडी र प्रशिक्षकका रुपमा विशिष्ट योगदान गर्ने मधुशमशेर जबरालाई नेपाल रत्न लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिएको थियो । राणाले नेपाललाई चिनाउन अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको भन्दै सम्मान गरिएको हो । राणाले प्रशिक्षण दिएका वैकुण्ठ मानन्धर र सूर्यकुमारी गुरुङलगायतले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका छन् ।


दक्षिण एसियाका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको सम्मान गर्दै व्लुरेन फाउन्डेशनका तर्फबाट सो फाउन्डेशनका अध्यक्ष बुद्धबीर लामाले ५१ हजार र विभिन्न खेलाडीका तर्फबाट प्राप्त २९ हजार गरी झण्डै ८० हजार रुपैयाँ मानन्धरलाई अर्पण गरेका थिए । मानन्धरका नाममा स्थापना गर्न लागिएको वैकुण्ड मानन्धर फाउन्डेशनले नेपाली खेलाडीहरुलाई म्याराथनको प्रशिक्षण दिनेलगायतका विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्ने बताइएको छ । नेपालका वरिष्ठ प्रशिक्षक मधुशमशेर जवरा र प्रथम धावक वैकुण्ठ मानन्धरको सम्मान गर्दै दोस्रो राष्ट्रिय धावक समेत रहेका बुद्धबीर लामाले राणा र मानन्धरको सम्मान राष्ट्रकै सम्मान भएको विचार व्यक्त गरे ।
प्रज्ञा भवनमा हिजो आयोजित विशेष समारोहमा राजनीतिज्ञ, कूटनीतिज्ञ, समाजसेवी, वरिष्ठ पत्रकार, साहित्यकार, खेलाडी, शिक्षक, विद्यार्थी, उद्योगपति व्यापारीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भएको सो कार्यक्रममा गीतकार बुद्धबीर लामाद्वारा लिखित गजल संग्रह ‘स्पर्श’ को पूर्वप्रम तथा वरिष्ठ नेता झलनाथ खनालले लोकार्पण गरेका थिए । सो संग्रहमा प्रेम, विरह, वियोग, मिलन र विभिन्न अनुभूतिका भाव समेटिएका छन् । यसअघि कर्णधार र वुद्धबीर लामाका गीतहरु नामक दुई कृति प्रकाशित भइसकेका छन् ।


सो कार्यक्रममा गीतकार लामाद्वारा रचना गरिएका विभिन्न गीतहरु प्रस्तुत गरिएका थिए भने विभिन्न कलाकारले प्रहसन र नृत्य प्रस्तुत गरेका थिए । प्रतिक ढकालले उद्घोषण गरेको कार्यक्रममा शम्भु राई, कुन्ति मोक्तान, पार्वती राई, निर्मला घिसिङ, भुवन सुप्तिहाङ राई, थिरज राई, नारायण लामालगायतका कलाकारहरुले गीत प्रस्तुत गरेका थिए ।
संगीतमय कार्यक्रममा गीतकार लामाद्वारा रचित ‘चलेछ बतास सुस्तरी..., खोटाङ हलेसी..., खुट्टा तान्दै गर..., हुम्ला जुम्ला गाडीमा..., च्छोरोल्पा ताल..., बादलुको घुम्टोले इलामबजार छोपिदा..., चोली राम्रो पाल्पाली ढाकाको..., हङकङ आइडीले..., डालीडालीमा...’ लगायतका दर्जनौं कर्णप्रिय गीतहरु प्रस्तुत गरिएका थिए ।


एक हजार भन्दा बढी गीत रचना गरिसकेका लामाका पाँच सय भन्दा बढी गीत रेकर्ड भइसकेका छन् भने कैयन गीतहरु नेपाली चलचित्रमा समेत राखिएका छन् । नेपाल सरकारका पूर्व प्रमुख जिल्ला अधिकारी, भूमिसुधार अधिकारीलगायत विभिन्न पदमा बसेर सेवा निवृत्त भएका लामाले शिक्षा र खेलकुदका क्षेत्रमा समेत विशिष्ट योगदान गरेको भन्दै प्रमुख अतिथि झलनाथ खनालले उनको योग्यता र क्षमताको राष्ट्रले कदर गर्नुपर्ने बताएका थिए ।
राजनीति शास्त्रमा एमए (गोल्डमेडलिष्ट) गरेका लामा इलाम बौद्धधाम निवासी लामा झण्डै ३५ वर्षअघिदेखि गीत रचनामा सक्रिय छन् । उनी ५० वर्षमाथिका एसियाली धावकमध्ये प्रमुख १० स्थान भित्र पर्छन् । जापान र ताइवानलगायतका देशमा भएका अन्तर्राष्ट्र्यि प्रतियोगिताहरुमा भाग लिएर सफलता पाएका लामाले अमेरिका, क्यानडालगायतका विभिन्न देशको भ्रमण गरेर नेपाली वाङमयको प्रचारप्रसारमा समेत योगदान पुर्याएका छन् ।


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com