अन्जुको एकल साँझमा मनभित्रका मान्छेहरु

Posted on: September 22, 2017 | views: 468

–   वाटर रसाइली,
    निकै ताम–झामका साथ बग्गी चढेर आइन अन्जु पन्त ! खचाखच भरिएको प्रज्ञा प्रतिष्ठानको हलमा । त्यो दिनको उनको एकल गायनको साँझ थियो । राष्ट्रिय गौरवको गीत मार्फत आफूलाई पस्कन थालिन । कहिले देश प्रेम, कहिले भजन, कहिले प्रेम, कहिले प्रकृति प्रेमका सुन्दर गीतहरु रन्किन थाले उनका आवाजमा । स्टेज सजिएको थियो गाना बजानका माष्टर माइन्डहरु ताल–तालका धून निकाल्दै मादल, हार्मोनियम, लगायत आवश्यक सामग्रीहरु स्वरमा सुगन्ध भर्न लागि परिरहेका थिए । रातो सेटमा सजिएका चर्चित गायिकाहरु जीना रसाइलीको समूह स्टेजमै पूर्णता दिन बसिरहेको थियो ।
    

एकपछि अर्को गीत गाउने क्रममा अन्जु बारम्बार दर्शक दीर्घाप्रति ‘नतमस्तक’ भएर भनिरहकी थिइन । तपाईंहरु सबै मेरो मनमा हुनहुन्छ । म यहाँहरु प्रति आभार व्यक्त गर्छु । धन्यवाद ज्ञापन गर्छु । उच्च सम्मान गर्छु – शरीर झुकाएर श्रोतावर्गलाई शीरमा राखिरहेकी थिइन । झुकी रहेकी थिइन । त्यो अन्जुको शालीनता देखिन्थ्यो । उनले देश प्रेमले ओतप्रोत भएको म मरे पनि मेरो देश बाँची रहोस् भन्ने गीतबाट आरम्भ गरिन् – आफ्नो आवाजमा । अनि गाइन भजन मन वा मन नै ... । अनि आफ्ना स्वरका चर्चित गीतहरु जोड्न थालिन – नबिर्से तिमीलाई नपाएँ तिमीलाई ...। म यस्तो गीत गाउँछु – जुन प्रेम गीत बनोस् ...।  तीर्खा लाग्यो पानी खाएँ ...। सुर्के थैली खै ...।  कस्ले चो¥यो मेरो मन ...। सागर सरी चोखो माया ...। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले ...। उनले १७ वटा गीत गाइन । गीत गाउन समय सीमाले नदिएपनि केही नामहरु लिइ नै रहिन् ? गीत, संगीत र गायन क्षेत्रका स्वनामधन्य यी नामहरु मेरा मनभित्र रहिरहेको छ । जसलाई म सम्झन चाहन्छु अन्जुले भनिन् ।


अम्बर गुरुङ्ग, कृष्णमान श्रेष्ठ, नारायण गोपाल, फत्तेमान राजभण्डारी, रञ्जित गजमेयर, धनबहादुर गोपाली, गुरुदेव कामत, चन्दन श्रेष्ठ, किरण खरेल, यादव खरेल, रत्न शमशेर थापा, राजेन्द्र थापा, उन्नतिशिला बोहरा, शिला पन्त, शम्भुजित बास्कोटा, रामप्रसाद दाहाल, अर्जुन पोख्रेल, एक नारायण भण्डारी, सुरेश अधिकारी, महेश श्रेष्ठलगायतका नामहरु म सम्झिन्छु भनिरहिन अन्जुले ।
त्यो पनि उनको महान थियो – जो मैले नाम लिन सकिन ती सबै मेरा आदरणीय हुनहुन्छ । क्षमा दिनुहोला । नेपाल म्युजिक रेकर्डिष्ट र अन्जु पन्त फाउण्डेशनद्वारा आयोजित सो एकल साँझमा सुन्दर आवाज दिन सफल थिइन चर्चित गायिका अन्जु पन्त । बीच बीचमा देखिन्नथिन सुन्दर उद्घोषणकी धनी मन्दिरा । यति हुँदा हुँदै पनि, सुन्दर रहँदा रहँदै पनि, अन्जुको बाक्लो मेकअप, एसिविनाको हल, सिटभन्दा बढी दर्शक, गर्मीको राप र पसिनाको धारोले छ्याप्पै भिजेको अवस्था भने खट्किने कुरा हुन् ...... । यस्तो नदोहोरिए राम्रो ....... ।


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com