गायक पुस्कल शर्माको सांगीतिक भाव सञ्चारमाध्यमले बुझ्न नसकेपछि...

Posted on: September 11, 2016 | views: 656

काठमाडौं, भदौ २६ । गायक पुष्कल शर्माले सस्तो लोकप्रियताका लागि अनौठो हत्कण्डा अपनाएका छन् । शर्माले आफू जीवित हुँदाहुँदै मृत्यु भएको भीडीयो बनाएर देखाएपछि यसले आमस्तरमा एक खालको गलत भ्रमको सिर्जना गरेको छ । जसले सामाजिक सञ्जालदेखि लिएर जहाँत्यहीँ नै हङ्गामा मच्चाएको छ ।

नेपाली लोकसंगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक पुष्कल शर्माको पछिल्लो समय बजारमा आएको एल्बम मुटु जलाई जलाई भाग ३ को “नजिक भए मलामी आइदिनु” बोलको गीत लोकप्रियता र गीत चलाउनका लागि आफैँ मरेको भीडीयो बनाएपछि उनी विवादित बनेका हुन् ।   

 जुन भीडीयोमा उनले गलत तरिकाबाट देशका पूर्वप्रधानमन्त्रीलगायत अन्य उच्चपदस्थ व्यक्तिहरुले अन्यत्रै दिएको समवेदनालाई दुरुपयोग गर्दै भीडीयो फुटेजहरु बनाएका छन् । यसरी गलत तरिकाबाट गायक शर्माले म्युजिक भिडियो निर्माण गरेपछि यसले आमरुपमा भ्रमको सिर्जना गरेको छ । भीडीयोमा विभिन्न नेताहरुदेखि लिएर लोकसंगीतकै अग्रज व्यक्तिहरुले दिएको समवेदनाले झनै भ्रम छरेको छ । लोकप्रियता बटुल्नकै लागि जिउँदै मानिसलाई मरेको देखाइएको हो भने यो बिल्कुल गलत देखिन्छ । पब्लिसिटीकै लागि उनको भीडीयोका बारेमा विभिन्न अनलाइनहरुले शर्माको मोटरसाइकल दुर्घटनामा निधन भनेर भीडीयो पोष्ट गरेपछि झनै यसले साँच्चै नै शर्मा मरेकै हुन् भन्ने अफवाह फैलाएको छ । यद्यपि यस विषयमा उनले आम दर्शकहरुलाई चोट पुगेको भन्दै माफी मागेका छन् । भीडीयोको अन्त्यमा यो घटना सपना मात्र भएको देखाइएको छ । विभिन्न अनलाइनहरुमा आएको प्रचारबाजीका विषयमा भीडीयो अन्त्यसम्म नहेरी नबुझिने भएकाले यसमा गायक शर्माले पक्कै भीडीयो हिट गराउने उद्देश्य तथा रणनीतिले अभिप्रेरित देखिन्छ ।

संवेदनाको नाममा गीत चलाउनका लागि शर्माकै युट्युब एकाउण्टबाट राखिएको उक्त भीडीयो सुरुकै दिनमा १ लाखभन्दा बढीले हेरिसकेका छन् । यसरी गलत तरिकाबाट भीडीयो निर्माण गर्ने र त्यसको दर्शक बढाउनका लागि गलत तरिकाले विज्ञापन गर्नुले समाजमा भ्रमको सिर्जना गरेको छ । जुन कार्य निन्दनीय देखिन्छ । नेपाली गीत संगीतको क्षेत्रमा सेन्सर तथा यससम्बन्धी विभिन्न नीति नियम तथा प्रावधानहरु नभएकाले पनि लोकप्रियताका लागि यस खालका हत्कण्डा अपनाउने गरिएको पाइन्छ, जसको भरपूर उपयोग गर्दै गायक शर्माले फाइदा उठाउन खोजेको देखिन्छ । र, समाचारको होडबाजी रहेको विद्युतीय सञ्चारमाध्यम विशेषतः अनलाइन साइटहरुले यसलाई गलत तरिकाले समाचारको रुपमा प्रस्तुत गर्नु झनै गैरजिम्मेवारपूर्ण छ । यसमा राज्यका सम्बन्धित निकायहरुको पनि ध्यान पुग्न जरुरी देखिन्छ ।

यस्तो शर्माले गाएका ‘मुटु जलाई जलाई’को भाग ३ मा रहेको दृश्य र शब्द


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com