तेस्रो लिङ्गीको कथामा ‘जिउँदो आकाश’

Posted on: June 02, 2018 | views: 184

काठमाडौं– उद्योग वाणिज्य सङ्घ बिर्तामोड र वीरता जेसीजको संयुक्त आयोजनामा हिँजो शुक्रबारबाट झापाको बिर्तामोडस्थित अतिथि सदनमा ‘जिउँदो आकाश’ नाटक मञ्चन शुरु भएको छ । 

यौनिक अल्पसंख्यकको रुपमा रहेका तेस्रो लिङ्गीको पीडालाई समेटेर समाजको यथार्थ र जीवन्त चित्रण गरिएको उक्त नाटक हेर्न दर्शकहरुको घुइँचो लागेको छ । शुक्रबारमात्र तीन शोमा नाटक मञ्चन गरिएको थियो । प्रदेश नं. १ का सांसद ओमप्रकाश सरावगीले प्रमुख अतिथिको आसनबाट नाटकको उद्घाटन गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको समारोहमा नाटक आयोजनाको औचित्यमाथि वीरता जेसीजका अध्यक्ष एकराज गिरीले प्रकाश पारेका थिए । 

वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बलराम कार्कीले स्वागत गरेको कार्यक्रममा जेसीज आस्था वाचन वीरता जेसीजका उपाध्यक्ष युवराज कुँवरले गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव कमलप्रसाद पाण्डे ‘बिनोद’ले गरेका थिए । नाटकको संयोजकमा प्रकाश दाहाल रहेका छन् भने निर्मातामा उनीसहित प्रवीण खड्का र निमेष शिवाकोटी छन् । 

आरके मेहता रोशनको निर्देशन रहेको नाटकमा तेस्रो लिङ्गीको भूमिकामा अनिल सुब्बाको एकल अभिनय रहेको छ । कृष्णप्रसाद पाण्डेयले लेखेको उक्त नाटकको ध्वनि नियन्त्रक मनाङ्ग लावती रहेका छन् । 

एक घण्टा १० मिनेटको नाटक अत्यन्त मनोरञ्जनात्मकका साथै समाजमा रहेको तेस्रो लिङ्गीलाई हेर्ने गलत दृष्टिकोणप्रति ठाडो प्रहार गरिएको छ । नाटक हेर्ने दर्शक अन्तिमसम्म नै अत्यन्त कौतुहल र उत्सुक मुद्रामा देखिन्थे । आर्ट स्टुडियोको दोस्रो प्रयास अनि साइलेन्ट एक्टको प्रस्तुतिमा जिउँदो आकाश नाटक प्रदर्शन गरिएको हो । नाटक जेठ २३ गतेसम्म प्रदर्शन हुनेछ । नाटक हेरेपछि सबै दर्शकले कलाकार सुब्बाको प्रतिभाको प्रशंसा गरेका थिए । दर्शकहरु भन्दै थिए– ‘नाटक यथार्थ विषयमा आधारित मार्मिक र एकपटक सबैले हेर्नैपर्ने खालको छ ।’ नाटक हेर्न विभिन्न स्थानबाट तेस्रोलिङ्गीको समेत उपस्थिति थियो । नाटक हेर्न जिल्लाका सामाजिक संस्था, उद्योग–व्यवसाय क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको समेत सहभागिता थियो । 



Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com