किन मागिन प्रियंकाले माफी ?

Posted on: October 19, 2016 | views: 423

वलिउड नायिका प्रियंका चोपडाले माफी मागेकी छिन् । अमेरिकी मासिक पत्रिका ‘कोन्डे नास्ट ट्राभलर’ को कभर पेजका लागि मोडलिङ गरेकी उनले त्यसकै कारण चर्को आलोचना खेप्नु परेपछि माफी मागेकी हुन् । अमेरिकी पत्रिका प्रकाशित तस्विरका कारण आलोचित भएकी प्रियंकाले भारतीय सञ्चार माध्यममार्फत् माफी मागेकी हुन् ।
म्यागजिनको कभरमा छापिएको तस्बिरमा प्रियंकाले सादा, सेतो टी–सर्ट लगाएकी छन् जसमा चार वटा शब्द लेखिएको देख्न सकिन्छ । ‘रेफ्युजी’ (शरणार्थी), ‘इमेग्रेन्ट’ (प्रवासी), ‘आउटसाइडर’ (बाहिरिया) र ट्राभलर (यात्री) लेखिएको उनको टी–सर्टका अघिल्ला तीन शब्द रातो मसीले काटिएका छन् । शरणार्थीप्रति हीन भाव देखाएको भन्दै सामाजिक सञ्जालमा प्रियंकाको खेदो खनिएको थियो ।
म्यागजिनको थिमअनुसार ‘ट्राभलिङ’ लाई जोड दिन त्यस्तो गन्जीमा फोटो सुट गराएको उनले बताएकी थिइन् । तर, चर्को आलोचना भएपछि प्रियंकाले क्षमा मागेकी हुन् । हालैको एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म उहाँहरूसँग माफी माग्न चाहन्छु जसको भावनामाथि मैले ठेस पु¥याएँ । मेरो उद्देश्य यस्तो थिएन । टी–सर्टमा लेखिएका शब्दको बांगो अर्थ लगाइयो । तथापि, म क्षमाप्रार्थी छु ।’
कोन्डे म्यागजिनले भने उक्त तस्बिरमार्फत् सीमारहित संसारको परिकल्पना प्रदर्शन गर्न खोजेको बताएको छ । उसले यो पनि भनेको छ– चाहे हामी समुद्र पार गरौं या केही किलोमिटरको दूरी, हामी सबै यात्री हौं ।
प्रियंकाले महिना दिनअघि कभर तस्बिर ट्वीट गरेसँगै उनका भारतीय प्रशंसक भरङ्ग भएका थिए । सिरियाली शरणार्थीको अवस्था उद्धृत गर्दै धेरैले यसलाई जातिवादी र अमानवीय तस्बिर भन्दै कमेन्ट गरेका थिए ।


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com