लघुकथा : पिरलो

Posted on: October 21, 2016 | views: 535

ईशा शाह । ‘बस्छन् कसोरी गृहस्थ छोरी बिदाइ गरी ?’ भन्ने कुनैबेला पढेको शाकुन्तल माहाकाव्यको शकुन्तलालाई बिदा गर्दाको हरफलाई अहिले छोरी बिदाई गर्दाको अवस्थामा सम्झिएँ । भक्कानो छुट्यो । उसको सुन्दर भविष्यको लागि कामना गरेर यसरी बिदा गर्दा छोरी पनि नरोई बिदा हुन सकिन । बिदा हुने बेलामा उ पनि भक्कानिदै मेरो छातीमा टाँस्सिई । ‘मारे पाप पाले पुण्य’ भन्दै मैले कुशपानी समातेर सुम्पिएकी छोरीको अवस्थाले मलाई भलभली रुवायो । उसको निधारमा चूमेर संसारको सारा खुशी उसको पोल्टामा परोस् भन्ने आशिर्वाद सहित उसको हात ज्वाँईंको हातमा थमाएर सकिनसकी बिदा गरें ।

छोरी चढेको गाडी पर पुगीसकेपछि आफूसँगै उभिएका छिमेकी, परिवार लगायत सबैलाई हेरें । सबैको अवस्था उस्तै थियो । श्रीमती र कान्छि छोरीलाई समातेर अरुसँग बिदा भएर म घर भित्र पसें । भित्र बुवाआमा सोफामा बसीरहनु भएको थियो । 

‘रोएको ?’ बुवाले मलाई सोध्नुभयो । 

‘मन थाम्नै सकिनँ, छोरी पनि बेस्सरी रोई ।’ मैले उहाँले सुन्ने गरी भनें । 

‘ऊ त यहाँ बिदा हुन आउँदै रोएकी थिई, मैले सम्झाएँ पनि...!’

‘अब आजको दिन सम्झाएर के सम्झिन्थी ?’ आमाले भन्नुभयो । 

‘हजुर पनि यसैगरी रुनु भएको थियो कि के हजुरमुमा ?’ सानी छोरीले सोधी । 

‘त्यसबेला अहिले जस्तो रहरको बिबाह कहाँ हुन्थ्यो र एघार वर्ष लागेको थिएँ बिबाह गर्दा ।’

‘एघार वर्ष रे ! के भन्या हजुरमुमा हजुरले ?’

‘हो त, बिबाह भनेको के हो नै थाहा भएन, पुतली खेलाई जस्तो ।’ 

‘लौ !’ 

‘के लौ ? कसरी घर खाईयो हामीलाई थाहा छ । तिमीहरुलाई अहिले बढि भएकोछ ।’ 

‘के बढि हुनु नि ?’ सानीले भनी । 

‘बिषय वा प्रसंगले अर्को अर्थ नलागे, खाना खाने तयारीमा लाग्छौं ।’ मैले सबैलाई हेर्दै भनें ।

‘हात खुट्टै लागेकोछ छैन के पकाउनु, रोटी सोटी केही खाए हुने हो की ?’ श्रीमतीले भनी । 

‘होईन छोरी अन्माएपछि खाना बनाउनु पर्छ बरु भात र एउटा तरकारी बनाऔं ।’ मैले भनें । 

‘सानी र हजुर भएर गर्नु म त सक्दिन ।’ भन्दै श्रीमती कोठा भित्र पसी । 

‘हुन्छ, आज सानीले पकाएको खाने ।’ भन्दै मैले छोरीलाई हेरें । 

ठगाही छोरीलाई दिदी अन्मिएको पिडा भन्दा नि काम गर्नुपर्ने अवस्था सृजना भएकोमा पिरलो परेको कुरा उसको अनुहारमा प्रष्टै देखिएको थियो । फेसबुक पेज ‘लघुकथा कुनो’ बाट

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com