रमाइलो गर्दा–गर्दै ‘दर्शने’ जन्मियो

Posted on: August 23, 2016 | views: 580

गोपिकृष्ण चापागाईं

कुनै समय गायक बन्छु भनेर हिँडेका सुरेश थापा अहिले दर्शनेको भूमिकाले आफूलाई दर्शक सामु चिनाउँदा दङ्ग छन् । सप्तरीको हर्दिया घर भएका सुरेश उच्चशिक्षा हासिल गर्न काठमाडौं छिरेको र धेरै सङ्घर्षले कलाकारितामा प्रवेश गरेको बताउँछन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिश्रृङ्खला ‘मेरीबास्सै’मा ‘दर्शने’को भूमिकामा देखिने सुरेशले छोटो समयमै दर्शकहरूको अपार माया पाएका छन् । 

सङ्घर्ष गर्नेहरूको एकदिन सबैको पालो आउने कुरामा विश्वास राख्ने उनी मेरीबास्सैमा ४३३औं भागबाट ‘दर्शने’को गेटअपमा उत्रिएका थिए । केहीहप्ता आफूलाई दर्शनेको भूमिकामा स्थापित गर्न गाह्रो परेको उनको अनुभव छ । दर्शनेको बोली कस्तो बनाउने र कुन बोलीलाई दीर्घकालिन रूपमा लैजाने भन्ने बारेमा सोच्नै केहीहप्ता खर्चनुपरेको उनले बताएका छन् । 

राजेश हमालको ‘भाउजू’बाट प्रेरित भए“

गाउँघरमा सानैदेखि नाटकहरू मन पथ्र्यो, गीतहरू धेरै सुन्ने गर्थें, कक्षा ८ मा पढ्दादेखि नै रेडियोमा गीत आयो भने पनि एकछिन पढ्न छोडेर भएपनि सुन्ने गर्थें, त्यतिखेर गाउँघरमा टेलिभिजन नभएको कारणले भने अभिनय के हो भन्ने खासै थाहा भएन । रेडियोमा गीत सुनेपछि भोलि–पर्सि यसरी नै गीत गाउँछु भन्ने लाग्थ्यो । पछि कक्षा ९ मा पढ्दा करिब १५ किलोमिटर टाढा रहेको फिल्म हलमा हिँडेरै राजेश हमालले अभिनय गर्नुभएको ‘भाउजू’ फिल्म हेर्न गएको थिएँ । त्यस फिल्ममा राजेश हमालको अभिनय देख्दा त्यसरी नै अभिनय गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो, त्यस्तै बन्न पाए हुन्थ्यो भन्ने दिमागमा पस्यो र त्यही सोच्ने त्यस्तै गर्ने गरियो । पछि स्कुलको कार्यक्रममा नाटक गर्ने कुरा भयो आफैंले टिम मिलाएर नाटक पनि सिकाएर गरेका थियौं । त्यो बेलामा मेरो दिमागमा कि गायक कि नायक बन्छु भन्ने मात्र थियो । 

पहिलोपटक काठमाडौं आउनेक्रममा झोला नै हरायो

जब एसएलसी पास भईयो अनि कहाँ पढ्ने भन्ने दौरानमा थिएँ । अनि तँइले कलाकारितामा धेरै रूची पनि राखेको छस् भनेर मेरो माइलो दाइ प्रल्हाद थापाले काठमाडौं गएर पढ् त्यहाँ अवसरहरू धेरै पाइन्छ भन्नुभएपछि म काठमाडौं जाने भएँ र काठमाडौं आउनेक्रममा बीच बाटो नौबिसेमा खाजा खाने समय भएको थियो । बसभित्र मेरो सर्टिफिकेटहरू भएको झोला थियो । म बाहिर निस्केको बेलामा बसले मलाई छोडेर गइगयो । त्यसपछि अर्को बसमा काठमाडौं आएँ । त्यो बसलाई खोज्ने कोसिस गरेँ तर नसकेपछि फेरि पछि घरमै फर्किएँ । प्रमाणपत्र तह (आईए) पनि सदरमुकाममै पढेँ र सँधै त्यहाँ बसेर मेरो उद्देश्य पूरा नहुने भएकाले ब्याचलर (बीए) पढ्नको लागि फेरि वि.सं. २०६१ सालमा काठमाडौं आएँ र पढ्न थालेँ । 

हिरो बन्छु भनेको कमेडियन बन्न पुगे“

काठमाडौंमा अवसरहरू खोज्ने क्रममा केमडियनहरूसँग संगत बढ्दै गयो । खासमा हिरो बन्छु भनेर काठमाडौं आएको थिएँ । तर कमेडियनहरूसँग हिँड्ने, भेटघाट हुने र बढी हिमचिम उहाँहरूसँग हुन थालेपछि कान्तिपुर टेलिभिजनबाट ‘शङ्खचक्र’ नामक टेलि–सिरियल चलाइरहनुभएका दाइ शिशिर सुबेदीसँग भेट भयो । शिशिर दाइ आफ्नो रिलेशनको मान्छे पनि हुनुहुन्थो त्यो भएर पनि भेट्ने मौका मिल्यो र पछि उहाँलाई मेरो कुराहरू राखेपछि उहाँले फोन नम्बर राख्नु’भो र मिल्यो भने पछि फोन गर्छु भन्नु’भो, समय धेरै भयो फोन पनि आएन, सायद व्यस्त हुनुहुन्छ होला भन्ने मेरो सोच हुन्थ्यो । पछि आफैंले फोन गरेर सुटिङ्ग हेर्न मात्र पनि जान्थेँ । एकदिन दाइले ल भाइलाई पनि एउटा सिनमा राख्नुप¥यो भनेपछि म निकै खुशी भएँ । ल भाइको पनि मेकअप गर्दिनुस् भनेपछि म यति धेरै खुशी भएँ कि अब मेरो इच्छा पूरा हुने भयो भन्ने भयो । त्यतिखेर एउटा नेता बनेर माग्ने मान्छेलाई पैसा दिएर जाने दृश्य थियो । शङ्खचक्र टेलि–सिरियलमा त्यस्तै ७ भागजतिमा खेलेपछि त्यो सिरियल नै बन्द भयो । पछि शिशिर दाइले नै बनाउनु भएको सिरियल ‘गोर्खे लौरी’मा २५ भागसम्म खेल्ने मौका पाएको थिएँ । 

अवसर गुम्ला भनेर जागिर खाइन“

आफ्नो उद्देश्य पूरा गर्नुपर्छ भनेर मैले कला क्षेत्रका धेरै मानिसहरूलाई भेट्थेँ, कुरा गर्थें । कतै अवसर पाइन्छ कि भनेर धेरै धाउने पनि गर्थें । काठमाडौंमा चल्नका लागि कमाई नभएपछि धेरै गाह्रो पनि पर्दै गएको थियो । जागिर खाउँकी जस्तो पनि लाग्थ्यो तर मैले स्थायी जागिर कतैपनि खाइन, फेरि कतै अवसर आयो भने जान नपाइने होकि वा पाएको अवसर गुम्लाकि भनेर । महिनामा ३/४ दिन काम गर्ने दुई–तीन हजार भयो भने फेरि महिनाभरी घुम्ने गर्थें ।

‘सर्लकै साइली’एल्मबमा कमेडी गीतपनि गाईयो

म शुरूमा त कमेडियन त थिइनँ । शिशिर सबेदीसँग हिँड्दा हिँड्दै उहाँको साथी रामकाजीसँग भेट भयो । गीतसङ्गीतको मान्छे रामकाजीसँग पनि चिनजान हुँदै गयो र मैले पनि गीत गाउँछु भनेपछि पछि रामकाजीको सहयोगमा गीत पनि गाएँ । लय र शब्द रामकाजीकै रहेको मेरो एकल आवाजमा पाँच वटा गीत समावेश भएको ‘सर्लकै साइली’ कमेडी एल्बम निकालेको थिएँ । जुन गीत अहिले पनि युट्युवमा हेर्न सकिन्छ । पछि १÷२ वटा अरू साथीहरूको गीत पनि गाएँ  । तर गीतबाट पनि खासै आम्दानी नहुने र जहाँ पनि पेटकै समस्या हुने भएकोले आम्दानी हुने बाटो खोज्नतिर म लागेँ । त्यो मेरो गीतको एल्बम बेच्नका लागि पनि धेरै धाएँ । कति महिना त त्यही एल्बम बेचेरै काठमाडौंमा जीविकोपार्जन पनि गरेँ । 

पैसाकै लागि मेकअप सिके“ 

पैसा खासै नहुने भएपछि अब अभिनय र गायन क्षेत्र छोड्छु र पैसा हुने काम गर्छु भनेर लागेँ । एकदिन शिशिर सुबेदीले नै मेकअप गर्छस् भनेर प्रस्ताव गर्नु’भो र मेकअप म्यान अमृत मरठ्ठासँग मेकअप सिकेँ र दुई महिनासम्म मेकअप गरिसकेपछि एउटा अफिसबाट क्यामेरा चलाउने अफर आयो । क्यामेरा एसिस्टेन्टको रूपमा एक बर्ष काम गरेँ । पछि साथीभाइले गीत निर्देशन गर्न भनेपछि गरौँ न त भनेर निर्देशनको काम पनि सुरू गरेँ र उक्त कामबाट राम्रो प्रतिक्रिया आयो । त्यो बेलामा सुनिल शाहीको ‘कहाँबाट’ भन्ने गीत निर्देशन गरेको थिएँ, जुन मद्वारा निर्देशित पहिलो गीत थियो । निर्देशन र क्यामेराको काम सँग–सँगै अगाडि बढाएँ र पछि आफैंले क्यामेरा किनेर पनि कुनै कार्यक्रममा खिच्न जाने, विवाह, पार्टी जस्ता ठाउँमा खिच्न जान्थेँ र राम्रै आम्दानी पनि हुँदै गयो ।

रमाइलो गर्दा–गर्दै ‘दर्शने’ जन्मियो

एकदिन मेरो साथी दिपक आचार्यले सिताराम कट्टेल (धुर्मुस) दाइसँग भेट गराईदिनु भयो । उहाँसँगै बसेर रमाइलो गर्दा–गर्दै ‘दर्शने’को क्यारेक्टर जन्मियो र सिताराम दाइलाई देखाएपछि यो क्यारेक्टर राम्रो छ म मेरीबास्सैमा बोलाउँछु भन्नु भयो । त्यसपछि एकैचोटी ६ महिनापछि सिताराम दाइले फोन गर्नु’भो र दर्शनेको भुमिकामा मेरीबास्सैमा खेल्न पाएँ । जुन दर्शनेको भुमिका ४३३औं भागबाट सुरू भएको थियो ।

अब दर्शने फाउण्डेशन दर्ता गर्छु 

मेरीबास्सैमा दर्शनेको भुमिकामा अभिनय गर्न थालिसकेपछि मैले अनाथ बालबालिकाहरूलाई मेरीबास्सैबाट भएको आम्दानीको आधा रकम दिन्छु भनेको थिएँ । पछिल्लो केहीसमय विविध कारणले यो कार्यलाई अगाडि बढाउन सकेको छैन । मैले पछिका दिनहरूमा भोलि दर्शने नभएपनि दर्शने फाउण्डेशन दर्ता गरेर अनाथ बालबालिकाहरूलाई सहयोग गर्ने योजना बनाएको छु ।


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com