आर.पी को निधनले मन्त्रि मारिएको चेसको राजा जस्तो भएको छु : कलाकार गिरी

Posted on: December 09, 2016 | views: 446

काठमाडौं । कलाकार आरपी भट्टराई (राजालाम) को निधनले कलाकारलाई मात्र होइन, आम दर्शकहरुलाई नै मर्माहत बनाएको छ । म्युजिक भिडियो, ठूला पर्दाका चलचित्र, साना पर्दाका चलचित्रलगायतमा लामो समयदेखि काम गर्दै आएपनि हाँस्यव्यंग्य टेलिश्रृंखला ‘तितोसत्य’ बाट उनी धेरै दर्शकमा चिनिएका थिए । तितोसत्यमा राजालामको उपनामबाट उनी अभिनन गर्थे ।
सहकर्मीको निधनले आफू मर्माहत भएको कलाकार दिपक राज गिरीले फेसवेकमा लेखेका छन् । भट्राईसँगै खिचेको तस्विर पोष्ट गर्दै कलाकार गिरीले लेखेका छन् –“सधै शब्दहरू संग खेल्ने म, आज शब्दको खडेरी महसूस गर्दैछु, भोलिदेखि मलाई अप्ठेरो पर्दा रातको १ बजे पनि लड्न भिड्न परे पनि उपस्थित हुने यो प्रिय भाइलाई म काहाँ पाउँ ? जसरी हनुमान बिना राम अपूर्ण थिए ठिक त्यस्तै उ (आरी भट्टराई) बिना म गलेको महसूस गर्दैछू..... दाइ फिल्म हलमा भिड छ भन्दै फुरूगं हुदै फोन गर्ने, मलाई कसैले गलत बोल्दा त्यो संग भिड्न तैयार हुने तिमीलाई भोलिदेखि काँहा खोजूँ म... मन्त्रि मारिएको चेसको राजा जस्तो भएको छू.... हार्दिक समबेदना मेरो प्यारो भाइ, मेरो बाबु...तिम्रो आत्माले शान्ति पाओस.....!!!”
आरपी भटट्राई ४ दिन अगाडि काठमाडौंबाट घर (विराटनगर) गएका थिए । बिहीबार बेलुकी फूपूको घरमा गएका आरपी बिहान मृत अवस्थामा भेटिएका थिए । ४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए । उनी आफ्नो मोटो शरीरका कारण सधै चिन्तित थिए ।
पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ । अब केही दिनमै १०० दिन मनाउने तयारी सो चलचित्रले गर्दैछ । १०० दिनको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उनी नहुँदा दर्शकहरुले निकै खल्लो महसुस गर्नुपर्ने भएको छ भने सो चलचित्र निर्माता, कलाकारहरुले पनि जुन हौसलाका साथ १०० दिन पुगेको अवसरमा रमाइलो गरी मनाउने थिए, त्यसमा कमी आउनु स्वभाविक भएको छ ।
भट्टराईले चलचित्र ‘वडा नम्बर ६’ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् । उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केहि हप्ता अगाडि मात्र युटुबमा सार्वजनिक भएको थियो । भट्राईको श्रीमति र २ छोरा छन् ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com