सरकारी मोटरसाइकल दुरुपयोग भएपछि अख्तियारले थाल्यो छानबिन

रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँ वडा कार्यालयको सरकारी मोटरसाइकल दुरुपयोग भएको भन्दै अख्तियारमा उजुरी परेपछि उक्त मोटरसाइकलको बिषयमा अख्तियारले अनुसन्धान अघि वढाएको छ ।

सो वडाका वडा अध्यक्ष गोकर्णराज आरणका छोरा गौतमराज आरणले होटल प्रयोजनको लागि प्रयोग गर्दै आएको लिखित उजुरी अख्तियारमा परेपछि उक्त मोटरसाइकल मन्थली नगरपालिकाले आफ्नो नियन्त्रणमा लिएको छ । मन्थली नगरपालिकाले वडा कार्यालयको लागि प्रदान गरेको बा २ प ९७२१ नम्वरको २२० सिसि प्लसर मोटरसाइकल वडा अध्यक्ष गोकर्णराज आरणले प्रयोग नगरी उनका छोरा गौतमराज आरणलाई दिएका थिए ।

वडा कार्यालय प्रयोजनको लागि उक्त सवारीसाधन कुनै पनि दिन प्रयोग नै नगरी उनका छोरा गौतमराज आरणले मन्थलीमा रहेको शैलुङ्गेश्वरी होटलमा राखी ग्राहक ओसारपसारको लागि प्रयोग गर्दै आएका थिए । वडा अध्यक्षका छोरा आरणले वडा अध्यक्षको छोरा हुँ भन्दै सरकारी सम्पतीको चरम दुरुपयोग गर्दै आएपछि उक्त बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

अख्तियारमा परेको उजुरीको बिषयमा छानविन गर्न जिल्ला प्रशासन कार्यालय रामेछापलाई अख्तियारले पत्र काटेपछि प्रशासनले सो बिषयमा छानिवन शुरु गरेसँगै उक्त मोटरसाइकल वडा अध्यक्षका छोरा गौतमले कार्वाही पर्ने डरले हतारहतार मन्थली नगरपालिमामा बुझाएको नाम नछाप्ने शर्तमा एक व्यक्तिले बताए । अख्यिारमा परेको उजुरीको पत्र सहित जिल्ला प्रशासन कार्यालयले मन्थली नगरपालिकामा पत्र काटेपछि उक्त मोटरसाइकल मन्थली नगरपालिकाले आफ्नो नियन्त्रणमा लिएको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिए ।

वडा अध्यक्ष आरणले सरकारी मोटरसाइकल प्रयोग गरी नागरिकलाई सेवा दिनुको सट्टा आफ्नो छोराको होटलमा सरकारी मोटरसाइकल प्रयोग गर्न दिएर मर्मत खर्च र इन्धन बापतको रकम भने वडा अध्यक्ष आफैले बुझेका छन् । उनले नियमविपरित यस चालु आर्थिक वर्षमा ४५ हजार ३ सय ८५ रुपैयाँ मर्मच खर्च र ३३ हजार ४७ रुपैयाँ इन्धन खर्च रकम नियम विपरित आफैले बुझेको मन्थली नगरपालिका–९ का वडा सचिव रामहरी अधिकारीले जानकारी दिए ।

यस बिषयमा वडा अध्यक्ष गोकर्णराज आरणसँग सम्र्पक गर्दा उनले वडा सचिवलाई नियमित ओसारपसार नगर्दा यो समस्या निम्तिएका बताए । उनले भने– मलाई मोटरसाइकल चलाउन जान्ने चालक राख्ने अनुमती नभएपनि आफुलाई साधन चलाउन नआउने भएकाले यताउता हिडडुल गर्नको लागि चालकको रुपमा छोरालाई राखेको हुँ । मोटरसाइकल मर्मत र इन्धन बापतको रकम नियम अनुसार नै कार्यालयबाट आफुले बुझेको बताए ।

Scroll to Top