आज राति ९ः४५ बजेदेखि २ः४५ बजेसम्म १५–२० वटा उल्का खस्दै

Posted on: April 22, 2018 | views: 135

काठमाडौं– आज नेपालबाट उल्कावर्षाको अवलोकन गर्न पाईने भएको छ । मौसमले साथ दिएमा वैशाख ९ गते (आज) राति नेपाली आकाशमा उल्का वर्षाको दृश्य हेर्न पाईनेछ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अनुसार वैशाख ९ गते आइतबार राति १ बजेदेखि सूर्योदयसम्म उल्का खसेको देख्न पाइनेछ । 

नासोका अनुसार मौसमले साथ दिएको खण्डमा यो वैशाख महिनामा नेपाली आकाशमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ । वैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने छ । 

वैशाख ५ गतेदेखि नै सक्रिय भएको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहनेछ । वैशाख ९ गते ९ः४५ बजे अत्यधिक सक्रिय हुने भएकोले यस्तो दृश्य देखिन लागेको हो । 

अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । वैशाख १३ गते औशी परेकोले यस वर्षको उल्का वैशाख ९ गते राति ९ः४५ बजेदेखि २ः४५ बजेसम्म हेर्दा उत्तम हुने नासोका अध्यक्ष सुरेश् भट्टराईले बताए । 

थ्याचर नामक पुच्छ्रेताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ । थ्याचर पुछ्रेताराले सूर्यको एक फन्को लगाउन ४१५ वर्ष लगाउँदछ । अध्यक्ष भट्टराईका अनुसार वैशाख २३ गते कुम्भ उल्का वर्षा (एटा एक्वारिड मिटियोर सावर) हुँदैछ । उक्त दिन दक्षिणी गोलाध्रबाट प्रतिघन्टा ५५ वटाभन्दा बढी उल्का देखिने भएपनि नेपालबाट १० देखि ३० वटासम्म देख्न सकिनेछ । 

हेली नामक पुच्छ्रेताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ । हेली पुच्छ्रेताराले सूर्यको एक फन्को लगाउन ७६ वर्ष लगाउँदछ । पुच्छ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोको कण छोड्ने गर्छन जुन लाखौँ किलोमीटरसम्म फैलिन सक्छन । यसरी फैलिएका धुलोको कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा धुलाको कण पृथ्वीको वायुमण्डलमा ठोक्किँदा उल्का देखिन्छ । यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com