म भन्छु, ‘सबैले दानसिंहका प्राकृतिक सम्पदाहरूको अवलोकन भ्रमण गरिदिनुस्’

Posted on: April 28, 2018 | views: 158

रमेश वस्ती, अध्यक्ष, तारकेश्वर गाउँपालिका, नुवाकोट

गत वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट स्थानीय तहमा जनप्रतिनिधिहरू आएको पनि १ वर्ष पुग्नै लाग्यो । मुलुक सङ्घीयतामा गएपछि सरकारले जनताका कतिपय अधिकारहरू स्थानीय तहलाई हस्तान्तरण गरेको छ । तैपनि निर्वाचित जनप्रतिनिधिहरू स्रोतसाधनको अभाव, कर्मचारीको अपर्याप्तताले जनतालाई भरपूर सुविधा दिन सकिरहेका छैनन् । यसै सन्दर्भमा नुवाकोट तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्तीसँग गाउँपालिकाले गरिरहेको काम र चुनौतीबारे कुराकानी गरेका छौँ । नेकपा एमालेबाट तारकेश्वर गाउँपालिका अध्यक्षमा करिब १ हजार मतान्तरले निर्वाचित वस्ती साबिक बुधसिंह गाविसमा जन्मेका हुन् । युवा जोस–जाँगरका साथ राजनीतिका अग्रजहरूलाई पछि पार्दै अध्यक्षको टिकट पाएका वस्ती नुवाकोटको १ मात्र गाउँपालिका जितेर एमालेको साख जोगाउन सफल भए । सबैसँग मिलनसार वस्ती जनताका विकास निर्माण आफ्नो प्राथमिकता रहेको बताउँछन् । यसै सन्दर्भमा उनीसँग विष्णु तारुकेले गरेको कुराकानीको सारसङ्क्षेप:–

तपाईं निर्वाचित भएको पनि १ वर्ष भइसक्यो । यसबीचमा स्थानीय तहमा के–कस्ता काम गरिराख्नुभएको छ ? 

हामी निर्वाचित भएको १ वर्ष पुग्न केही दिन मात्र बाँकी छ । देश सङ्घीयतामा गइसकेपछिको यो पहिलो निर्वाचन हो । हामी सुरुमा अन्योलमा प¥यौँ । अन्योलको बाबजुद पनि हामीले गर्न सक्ने विकास–निर्माणका कामहरूमा सबै जनप्रतिनिधि मिलेर के–कसरी तारकेश्वरलाई समुन्नत बनाउन सकिन्छ भनेर अहोरात्र खटिएका छौँ । विकास निर्माणकै कामहरू भन्नुपर्दा अहिले हामीले गाउँमा सडक पूर्वाधार विकासका कामहरू अत्यधिक मात्रामा गइरहेका छौँ । तारकेश्वर ६ वडामा विभाजित छ । त्यसमा वडा नं. ६ अलि विकट भूभागमा पर्छ । त्यो खड्कभञ्ज्याङको पहिलाको विकट वडा १, २, ३ तारकेश्वरमा मिसाइएको छ । फिर्केकोट तारकेश्वरको कर्णाली भनेर चिनिन्छ । त्यहाँबाट वडा कार्यालयसम्म बाटो जोड्ने काम सम्पन्न भएको छ । त्यसैगरी वडा नं. ४ पनि विकासको गतिमा अलि कमजोर नै थियो । यहाँ पनि अलि ठुल्ठूला बाटाघाटाहरू बनाइरहेका छौँ । तारुकालाई अहिले २ वटा वडा बनाइएको छ । त्यी वडाहरूमा जुन तल्लो भेग तारुकाबेसीदेखि भवनडाँडासम्म अहिले बाटोको स्तरोन्नति कार्य भइरहेको छ । वडा नं. ३ मा पनि विकास निर्माणका लागि जोर चौतारादेखि खानीगाउँसम्मका सडक ठूलो बनाउने निर्णय गरेका छौँ । वडा नं. ५ का सबै ग्रामीण सडकमा स्तर उन्नतिको काम सकिएको छ । वडा नं. १ मा पनि अहिले हामीले धेरै बाटोको स्तरोन्नति गरेका छौँ । 

हिजोको स्थानीय निकाय हुँदा र अहिले स्थानीय तहबीच सेवा पाउने सवालमा जनताले कस्तो महसुुस गरेका छन्, तपार्इं निर्वाचित भएर आइसकेपछि ? 

अहिले जनताको अपेक्षा एकदमै ज्यादा छ हामीप्रति । सबै काम जनप्रतिनिधिले गर्नुपर्छ भन्ने उहाँहरूको चाहना छ । यो यथार्थ र सही पनि हो, किनभने २०औँ वर्षसम्म जनप्रतिनिधिविहीन भएर बसेको हाम्रो यो मुलुक अहिले हामीले एक्कासि जनप्रतिनिधि पाउँदाखेरि जनताको चाहना त्यति उत्साहित हुुनु नराम्रो पनि होइन । जनताको इच्छा पूरा गर्न हामीले हरप्रयास गरेका छौँ । जनप्रतिनिधिको तर्पmबाट कुनै कसर बाँकी राखेका छैनौँ । सबैको यो स्थानीय तहमा नेपालको कुनै पनि ठाउँमा कर्मचारी पूरा नभएको कारणले गर्दा सेवामा केही सुस्तता भएको कुरा स्वीकार्नुपर्छ । अझै पनि हाम्रा ६ वटा वडामा जम्मा ३ जना मात्र वडासचिव हुुनुहुन्छ । हामीले एकजनालाई २ वटा वडासम्म हेर्न लगाउने गरेका छौँ । जनप्रतिनिधिबाट हुनुपर्ने कामहरू, जनतालाई सेवा दिने कुराहरूमा हाम्री अहोरात्र वडाध्यक्ष, वडासदस्य साथीहरू जनताको घरदैलोमै पुगेर सेवा दिएका छौँ । 

समग्र तारकेश्वरको विकासका लागि यहाँहरूले के योजना बनाउनुभएको छ आगामी दिनका लागि ? 

एउटा परिकल्पनाका साथ म जब निर्वाचित भएर शपथ लिएँ । तारकेश्वरमा केही नयाँ काम गरौँ भन्ने उत्साह, जोसजाँगरका साथ हामी अगाडि बढ्यौँ । तारकेश्वरमा हामीले चक्रपथ निर्माण गर्ने ता कि ६ वटै वडा त्यो सडक सञ्जालले छोओस् भनेर सडकका लागि विशेष प्राथमिकता दिएका छौँ । त्यसका लागि ३ वटा बाटो डीपीआर सम्पन्न गरेका छौँ । त्यो ३ बाटो तारकेश्वरको वडा नं. २ भवनडाँडादेखि वडा नं. ३ चन्दनी हुँदै वडा नं. ४ नेवारपानी, सिम्ले, भञ्ज्यानखर्क र वडा नंं. १ डाँडाखर्क हुँदै दाङसिंसम्मका सडकहरू डीपीआर सम्पन्न गरेर त्यसलाई टेन्डर प्रक्रियामा पनि अगाडि बढाइसकेका छौँ । छिट्टै सडक खन्ने प्रक्रियामा अघि बढ्दछ । त्यस्तै, अर्को तारुकाघाटदेखि काउलेसम्म डीपीआर सम्पन्न गरिसकेका छौँ । त्यो बाटो यही आर्थिक वर्षबाट सञ्चालन हुन्छ । अर्को मानेडाँडादेखि महादेवफाँटको पक्की पुलसम्म सडक डीपीआर गरेका छौँ । यो बाटो सञ्चालन गर्न सकियो भने एकदम छोटो दूरीमा हामी गल्छी–त्रिशूलीको राजमार्गमा जोड्न सक्छौँ । यी ३ वटा बाटो सञ्चालनमा ल्याउन सकियो भने तारकेश्वरको समुन्नति, विकासको लागि ठूलो योगदान मिल्छ भन्ने मलाई लागेको छ । 

अर्को अहिले तारकेश्वरको तारुका २ र ३ वडामा खानेपानीको एकदमै समस्या छ । त्यसका लागि हामीले एउटा मूल अध्ययन गरिसकेका छौँ । ३ नं. वडा पनि खानेपानीको समस्याबाट गुञ्जिएको छ । पानीको मुहान छ, त्यो मुहानको पनि हामीले अहिले सर्भे गर्ने काम गरिरहेका छौँ । हामीले चुनावमा पनि वाचा गरेका छौँ खानेपानीका कुरामा । जहाँ खानेपानीको पनि समस्या छ त्यहीअनुसार हामी अगाडि बढेका छौँ । खानेपानीको उचित व्यवस्थापन नहुँदा समस्या सबै वडामा केही न केही देखिएको छ । त्यसलाई हामी व्यवस्थित गर्न लागिरहेका छौँ । शिक्षाको बारेमा भन्नुपर्दा नेपालको सामुदायिक विद्यालयको अवस्थाबाट तारकेश्वर पनि टाढा छैन । सामुदायिक स्कुलमा दरबन्दी कम छ । कुनै ठाउँमा विद्यार्थी छैनन् । भौगोलिक कारणले हामीले मर्ज गर्न पनि सकिरहेका छैनौँ । हामीले प्राविधिक शिक्षामा पनि जोड दिएका छौँ । तारकेश्वरमा एउटा प्राविधिक शिक्षालय खोलेर त्यो स्कुलमा हामीले पढाएका विद्यार्थी, गुणस्तरीय शिक्षा, विश्वबजारमा बिक्न सक्ने विद्यार्थी उत्पादनका लागि शिक्षा क्षेत्रमा हामीले लगानी गर्ने कोसिस गरिरहेका छौँ । स्वास्थ्यको बारेमा भन्नुपर्दा तारकेश्वरको सबै वडामा स्वास्थ्य चौकी छैन । ६ नं. वडा पूरै नयाँ भएको हुनाले ६ नं. मा स्वास्थ्य चौकी छैन । २ नं. वडामा स्वास्थ्यचौकी छैन । ३ नं. वडा र १ नं. मा २ ठाउँमा बर्थिङ सेन्टर पनि सञ्चालन गरेका छौँ । अब हामीले जुन स्वास्थ्यचौकी नभएको ठाउँमा पनि जुन स्वास्थ्यचौकी भएको कर्मचारीहरूलाई काजमा खटाएर भए पनि जनताका स्वास्थ्यसम्बन्धी समस्या र रोकथामका निम्ति घुम्ती स्वास्थ्यचौकी पनि बनाउने जमर्को गरिरहेका छौँ । 

तारकेश्वरमा जुन हिसाबले निर्वाचन जितेर आउनुभयो । तपाईंभन्दा सिनियर नेताहरू पनि त्यहाँ टिकटका लागि प्रतिस्पर्धी हुुनुहुन्थ्यो । उहाँहरूलाई पछाडि पारेर तपाईं अगाडि आउनुभएको छ । काम गर्न कत्तिको सहज छ ? 

यो राजनीतिक कुरा गर्दा चुनावमा सबैले टिकटको दाबी गर्नु, टिकट लिन्छु भन्नु छुट्टै चाहना, इच्छा, आकाङ्क्षा हुन्छ । त्यो इच्छा, आकाङ्क्षामा सबै साथीहरूले आ–आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभयो । त्यसमा म पनि सहभागी थिएँ । त्यही सिनियर–जुनियरकै हिसाबले गर्दा म पनि अहोरात्र त्यही पार्टी सङ्गठनको काममा नै लागेको थिएँ । म अहोरात्र बुधसिंह सङ्गठन समितिको अध्यक्ष भएर सङ्गठन बनाएर अगाडि बढेको थिएँ । त्यति हुँदाहुँदै पनि मभन्दा सिनियर कमरेडहरू हुनुहुन्थ्यो । पार्टीले मलाई टिकट दियो, चुनावमा हामी एकढिक्का भएर होमियौँ । त्यसको परिणाम हामीले करिब तारकेश्वरमा दुईतिहाइ नजिक कार्यपालिका सदस्य जित्न सफल भयौँ । अहिले काम गर्दै जाँदा त्यस्तो बाधा–अडचन केही छैन । उहाँहरूसँग मैले नजानेको कुराहरू सिक्ने सल्लाह लिने गरेको छु । 

अझै ३ वटा वडामा फरक पार्टीका साथीहरूले चुनाव जित्नुभएको छ । त्यहाँ काम गर्नलाई कत्तिको सहज भएको छ ? 

हामी गाउँपालिकामा निर्वाचित भइसकेपछि पार्टीको भन्दा पनि जनताको जिम्मेवारी बढी बहन गर्नुपर्ने हुन्छ । त्यति धेरै ठूलो समस्या त आएको छैन । तर, हुन सक्छ एउटा चुनावचिह्न लिएर आएका साथीहरूको आ–आफ्ना चाहना हुन्छ । त्यसमा अन्यथा मान्नुपर्ने कुरा पनि छैन । धेरै समस्या मैले अनुभव गरेको छैन । सबै वडाध्यक्ष साथीलाई म मेरै शरीरको कुनै अङ्ग भनिठान्छु । अन्य कुनै पार्टीबाट जितेर आउनुभएको भए पनि उहाँहरू मेरा एउटा सदस्य हुन् । उहाँहरूको साथ–सहयोग मलाई पनि चाहिन्छ र मेरो साथ सहयोग उहाँहरूलाई पनि चाहिन्छ । तारकेश्वरमा कुनै विवाद भएको छैन । 

१ वर्ष त यहाँहरूको सिकाइ अवधिमै सकियो । अब बाँकी ४ वर्षे कार्यकालमा यहाँले कस्तो तारकेश्वरको परिकल्पना गर्नुभएको छ ? 

अहिलेको १ वर्ष त हामीलाई विभिन्न एनजीओ, आईएनजीओ, संस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गोष्ठी आदिमा सहभागी भइरहेका छौँ । जनताका काममा हामीले प्रभावित पारेका छैनौँ । पहिलो अनुभव भएकाले हामी सिक्दै छौँ । अबको ४ वर्ष जनताले अनुभव गर्ने गरी काम अगाडि बढाउँछौँ । अब जनताका विकासमा हामी द्रुत गतिमा अगाडि बढ्छौँ ।

यही वैशाख १७ देखि १९ गतेसम्म प्रथम तारकेश्वर महोत्सव हुँदै छ, यसको उद्देश्य के हो ? 

नीति तथा कार्यक्रम बनाउँदा पनि हाम्रो गाउँलाई चिनाउन केही न केही गर्ने भनेर भनेका थियौँ । दानसिंहका युवा साथीहरूको पहलमा महोत्सव हुन लागेको हो । त्यसको सहआयोजक तारकेश्वर गाउँपालिका हो । स्थानीय नुवाकोट पर्यटन पूर्वाधार तथा विकासे संस्थाको पहलमा महोत्सव हुन लागेको छ र यो महोत्सवलाई सफल बनाउन महोत्सव अवधिभर जनतासँगै रहनेछु । सबैलाई दानसिंहका प्राकृतिक सम्पदाहरूको अवलोकन भ्रमण गरिदिन आग्रह गर्छु । प्रथम तारकेश्वर महोत्सवमा तारकेश्वरका विशेष पर्यटकीय क्षेत्रको पहिचान गराउनेछौँ । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com