जनतालाई विकास दिन त कर चाहियो नत्र पैसा कहाँबाट आउँछ ?

Posted on: September 10, 2018 | views: 116

डा. प्रकाशचन्द्र लोहनी
अध्यक्ष, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)

नेपालको राजनीतिमा प्रायः सधैँ चर्चामा रहने नेतामा पर्छन् डा. प्रकाशचन्द्र लोहनी । स्पष्ट वक्ता लोहनीले झन्डै पाँच दशक राजनीतिमा बिताइसकेका छन् । पञ्चायतकालमै मन्त्री बनेका लोहनी अहिले भने नयाँ पार्टी एकीकृत राप्रपा (राष्ट्रवादी) गठन गरेर त्यसको अध्यक्ष छन् । चुनावको मुखमा गठन भएको राप्रपा (राष्ट्रवादी)ले देशभरबाट प्रत्यक्ष र समानुपातिकबाट कुनै सिट जित्न सकेन । तत्कालीन अध्यक्ष पशुपतिशमशेर राणा र कमल थापाको पेलाइबाट नयाँ पार्टी बनाउन जुटेका लोहनी अहिले पनि सङ्गठन विस्तारमै व्यस्त छन् । प्रस्तुत छ, नयाँ पार्टीको अवस्था र वर्तमान राजनीतिबारे गरिएको कुराकानीः–

आजभोलि केमा व्यस्त हुनुहुन्छ ? 

अहिले मूलतः पार्टीकै काममा व्यस्त छु । अहिले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेर देशव्यापी पार्टी निर्माणमा जुटिरहेका छौँ । यो पार्टीको जिल्ला हुँदै स्थानीय तहसम्म सङ्गठन निर्माण भइरहेको छ । 

देशमा अहिले भएका ठूला पार्टीहरू पनि एक भइरहेको अवस्थामा तपाईंहरूचाहिँ राप्रपा तीन टुक्रा भएर अस्तित्व नै सङ्कटमा कतिञ्जेल रहने ? 

हामीले सबै मिलेर जाने भनेर एकता गरेको पनि हो । चुनावअगाडि नफुटेको भए सायद हामी माओवादीको पोजिसनमा पुग्ने थियौँ । हाम्रो एकता हुँदा जुन प्रकारको प्रतिबद्धताहरू थिए त्यसलाई कार्यान्वयन गर्नेहरूले चासो दिएनन् । एकताअगाडि एउटा प्रतिबद्धता र पछि त्यसलाई उपेक्षा गर्ने काम भयो । मैले त्यसलाई सहन सकिनँ । अर्को कुरा प्रचण्ड नेतृत्वको सरकारमा जाने–नजाने विषयमा पनि कुनै सल्लाह नै गरिएन । सरकारमा हाम्रो पार्टी जाने भन्ने कुरा मैले रेडियोबाट थाहा पाएँ । म पार्टी फुटाएर निस्केको होइन, आफँै एक्लै छोडेर नयाँ पार्टी गठन गरेको हुँ । 

नयाँ पार्टी ए. राप्रपा राष्ट्रवादीको मूल उद्देश्य के हो ?

नयाँ नेपाल निर्माता पृथ्वीनारायण शाहले नेपाललाई साझा फूलबारी मात्रै होइन तत्कालीन समयमा नेपालको परराष्ट्रनीति र अर्थनीति नेपाल र नेपालीका हितमा प्रयोग गरेका थिए । अहिलेजस्तो आयातमुखी अर्थतन्त्रमा निर्भर थिएन । ए. राप्रपा राष्ट्रवादीको मागचाहिँ नेपालको पहिचान सनातन धर्म र हिन्दू राष्ट्र हुनुपर्छ । त्यसका लागि संविधान संशोधन हुनुपर्छ । त्यसको लागि जनमतसङ्ग्रह हुनुपर्छ भन्ने हाम्रो पहिलो माग हो । नेपालमा राजसंस्थाचाहिँ एकताको प्रतीक हो । शासन जनताले गर्नुपर्छ, तर हिमाल, पहाड, तराईलाई एक सूत्रमा बाँध्न राजसंस्था चाहिन्छ भन्ने हाम्रो माग हो । विशेश्वरप्रसाद कोइराला पनि यसै भन्नुहुन्थ्यो । एकताको सूत्रमा बाध्नका लागि राजसंस्था अनिवार्य छ भन्नुहुन्थ्यो बीपीले । हामी आज तिनै बीपीको विचार लिएर जनतामा गइरहेका छौँ ।

अर्को कुरा नेपालका राजनीतिक पार्टीहरूमा भ्रष्टचार मौलायो । नेपालका सबै नेताको सम्पत्ति छानबिन गरियोस् । हाम्रो नेताहरूबाट सुरु गराँै । एनसेलले ४० अर्ब पुँजीगत लाभकरबापत रकम नेपाल सरकारलाई दिनुपर्ने हो, त्यसलाई काङ्ग्रेस, एमाले र माओवादी तीनै पार्टीका नेताहरू मिलेर अहिले पनि माफ गर्ने प्रक्रियामा छन् । नेताहरूले मिलेर खाएकाले म ठोकेर भन्छु कसैले एनसेलको पैसा असुल्ने प्रयास गर्दैनन् । 

राप्रपा पुराना पुस्तामा मात्रै सीमित भयो नि ? 

युवा वर्गमा हामी पुग्न सकेका छैनौँ, तपाईंले भनेको कुरा सही हो । तर, धर्मनिरपेक्षताको नाउँमा विदेशी संस्कृति र विदेशी चाडवाडलाई महत्व दिने परम्परा यहाँ सुरु भयो । त्यसप्रति युवावर्ग अलि सचेत छन् । धर्मको नाममा आएको विकृतिको वेभमा युवाहरू आफै आकर्षित हुन्छन् । युवा पुस्तालाई आकर्षण गर्ने नीति हामीले ल्याएका छौँ । 

तपाईं अध्यक्ष भएको एराप्रपा (राष्ट्रवादी) को नुवाकोटमै नामनिसाना छैन त ? 

हाम्रो जिल्ला समिति छ । अहिले पनि नुवाकोटका सबै स्थानीय तहमा समितिहरू बनिरहेका छन् । आगामी चुनावमा हाम्रो पार्टीको उपस्थिति राम्रो हुनेछ ।

दुईतिहाइको वर्तमान सरकारलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? 

जनताले विश्वास गरेर दुईतिहाइ दिएका छन् । जतिवेला भारतले नाकाबन्दी गरेको बेलामा केपी ओलीले जुन किसिमको अडान लिनुभयो, त्यो राष्ट्रका लागि थियो । त्यतिबेला काङ्ग्रेस बोल्दै बोलेन, उसले भारतको समर्थन ग¥यो । त्यसबेला ओली सरकारलाई दुईतिहाइ नभए पनि जनताको समर्थन थियो । ओलीको अघिल्लो सरकारको छवि र वाम एकाताले एउटा वेभचाहिँ आयो । जनताले विश्वास गरेर मत दिए, सुरुमा राम्रै थियो । यो ६ महिनाको बीचमा सरकारप्रति जनताको जुन अपेक्षा थियो त्यो बिस्तारै हट्दै गयो । सरकार अधिनायकवादतिर लाग्यो । आफ्ना कार्यकर्तालाई पोस्नेतिर सरकार लाग्यो । पहिले जहानियाँ शासनमा जहानियाँ दल हुन्थ्यो अहिले त्यस्तै भएको छ । सरकार ठूला गफ मात्रै हाँक्ने काम गर्न नसक्ने भएको छ । जनतालाई सुविधा दिनुभन्दा अधिनायकवादी बाटोमा लाग्यो । कानुनी शासन हराउँदै आयो । जनतामा आक्रोश सुरु भइसकेको छ, यो कसरी फुट्छ थाहा छैन । जनताको आवाज उठाउनुपर्ने प्रतिपक्षले हो, ऊ आफैँ नुन खाएको कुखुरोजस्तो भएर बसेको छ । प्रतिपक्षले यसो भएन भनेर आवाज उठाउने ठाउँ नै छैन किनकि हिजो उनीहरू हुँदा के नै भएको थियो र ? एनसेल काण्ड र नेपाल आयल निगमको जग्गा खरिद काण्ड काङ्ग्रेस सरकारमा रहेकै बेला भएको हो । अहिलेको प्रतिपक्षसँग सुशासन देऊ भन्ने नैतिक आधार छैन । 

अब दुईतिहाइको सरकार ढल्ला त ? 

सरकार ढल्ने–नढल्ने कुराभन्दा पनि जनताको एकप्रकारको आक्रोश बढ्दै जाँदा के हुन्छ कसले भन्न सक्छ र ? सरकारले बेलैमा सोच पु¥याएर जनतालाई सुविधा दिनुपर्छ । 

सरकारले कर बढायो भनेर देशभर आन्दोलन भएका छन्, तपाईं पूर्वअर्थमन्त्री तथा अर्थविज्ञको नाताले के भन्नुहुन्छ ? 

कर सरकारले उठाउनुपर्छ, कर उठाउने कुराको विरोध गर्ने होइन । स्थानीय तहले पनि जनतालाई विकास दिन त कर चाहियो नि नत्र पैसा कहाँबाट आउँछ ? कर जनताबाट उठाइन्छ भने त्यसको सदुपयोग कसरी भएको छ त्यो पनि हेरिनुपर्छ । गाउँपालिका, नगरपालिकालाई पनि सरकारले यो–यो कर उठाउन पाइने भनेर सीमासहितको कर उठाउने अधिकार दिएको छ । यस्तो करको समस्या आउँदा सरकारको वित्त आयोग छ उसले बनाएको मापदण्डअनुसार हुनुपर्छ । जथाभावी कर लगाउनै प्रतिस्पर्धा चलेको छ, स्थानीय तहमा यसलाई जनताले पचाउन सकेका छैनन् । असीमित अधिकार कहीँ पनि दिनुहुँदैन । 

 तपार्इंलाई केरुङबाट रेल आउँछ जस्तो लाग्छ ? 

म अर्थमन्त्री भएको ०३९ सालमा गल्छी–त्रिशूली– रसुवागढी हुँदै केरुङ जोड्ने भनेर सडक निर्माणलाई सहयोग गर्न चीनसँग आग्रह गरेको थिएँ । उनीहरूले किन चाहियो भनेर मलाई सोधेका थिए । मैले त्यतिबेलै चीनसँग व्यापार गर्न यो बाटो सहज हुन्छ भनेर बजेट छुट्याएको थिएँ । गल्छी–त्रिशूली बाटोलाई पिच गरेर राम्रो बनाउनुपर्छ भनेर ०६८ सालमा एडीबीको सहयोगमा त्यो बाटो पिच गर्न लगाएँ । बाटो राम्रो बनाएर चिनियाँ व्यापार मात्रै होइन निर्यातमा पनि ध्यान दिन ०५९ मा मैले नै चिनियाँ सहयोगमा निर्यात उद्योग खोल्ने भनेर रातमाटे र पीपलटारलाई विशेष आर्थिक क्षेत्र घोषणा गराएर अध्ययन गर्न बजेट छुट्याएँ । त्यसपछि आउने सरकारले त्यसलाई महत्व दिएनन् । अब चीनबाट कन्टेनरभरि सामान आउँछ, तर कन्टेनर रित्तै जाने परिपाटी अहिले छ । हाम्रो निर्यात उद्योग खोइ ? 

रेल ल्याउनलाई आर्थिक र प्राविधिक दुवै कुरा हुनुपर्छ । दार्जिलिङमा पनि सानो रेल गएको छ नि । केरुङ धेरै माथि छ । टिमुरे धेरै तल छ । रेल दुई डिग्रीभन्दा उकालो–ओरालो गर्न गाह्रो छ भन्ने प्राविधिक कुरा सुनेको छु । भौगोलिक रूपले उकालो–ओरालो धेरै छ । रेल आउनुअघि गल्छी–टिमुरे बाटो राम्रो हुनुपर्छ । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com