रामेछाप । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने बताएका छन् ।
सो कुरा उनले बुधवार प्रेस चौतारी नेपाल रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन् । उनले नक्कली शरणार्थी प्रकरणमा अहिले हिरोवाद नभै सत्य तथ्य चाहिएको बताए । अहिले प्रधानमन्त्री, मन्त्रीहरूको पनि पार्लियामेन्ट कमिटीहरू मै छाडिन्न भन्ने ठूला हिरोइज्मका कुरा मात्रै सुनिन्छ, अहिले हामीलाई हिरोइज्म भन्दा पनि सत्य तथ्य चाहिएको बताए ।
नक्कली भुटानी प्रकरणको छानबिन प्रधानमन्त्री र मन्त्रीले गर्ने होइन । छानविन त प्रहरी प्रशासनले गर्ने भएकाले सरकारले त निष्पक्ष छानबिन गछौं भनेर लाग्नुपर्ने हो, तर अहिले त्यो देखिएको छैन् । उनले भने–शरणार्थी प्रकरणमा निर्दोष कोही नफसुन् र दोषी कोही नछुटुन । यसअघि भएका विभिन्न काण्डहरु पनि छन् । यी सबै काण्डहरुको प्रहरीले निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने माग नेकपा एमालेले गरेको छ ।
त्यस्तै आगामी आर्थिक वर्षको लागि सरकारले निती तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पेश गर्नुपर्नेमा संविधान र र संघीय कानुन विपरित वर्तमान सरकारका प्रधानमन्त्रीले वजेट प्रस्तुत गर्ने तयारी भइरहेको सुनिन आएको छ । यदी यो कुरा साँचो हो भने यस कुरामा नेकपा एमाले सहमत हुन सक्दैन । हाम्रो माग भनेको संविधान र संघीय कानुन अनुसार सरकारको निती तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्नुपर्छ भन्ने हो । तर अहिले वर्तमान सरकारले राष्ट्रपति विरामी भएको बहानाबाजी गर्दै संसदमा निती तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने गरी तयारी रहेको भन्ने सुनिन आएको एमालेका उपमहासचिव रिमालले बताए ।
उनले भने– राष्ट्रपतिले गर्ने काम वर्तमान सरकारका प्रधानमन्त्रीले गर्छु भन्दै हिड्नु लाजमर्दो कुरा हो । राष्ट्रपति नभए उपराष्ट्रपतिलाई कार्यबाहक दिनुपर्ने यदी उपराष्ट्रपति पनि नभएको खण्डमा मात्रै प्रतिनिधिसभाको सभामुखलाई गर्न दिनुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुसार गर्नुपर्ने नेकपा एमालेको माग हो । यदी त्यो हुन सकेन भने नेकपा एमाले विरोधमा उत्रने पनि रिमालले बताए ।