अहिलेको सरकार ढाल्न सक्छौं– अध्यक्ष नेपाल

रामेछाप । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले चलिरहेको सरकार आफूहरुले चाहेमा तत्काल ढाल्नसक्ने चेतावनी दिएका छन् ।

सो कुरा उनले शनिवार सिन्धुलीमाडीमा एकिकृत समाजवादी सिन्धुलीको सातौ जिल्ला अधिवेशन उद्घाटन गर्ने क्रममा बताएका हुन् । उनले आफ्नो पार्टीलाई संसद्‍मा सिट संख्या कम छ भन्दै नहेप्न ठूला पार्टीलाई चुनौती समेत दिए । अहिले आफ्नो पार्टीको प्रतिनिधिसभा र राष्ट्रिय सभामा सिट संख्या जोड्दा चौथो शक्तिकोे रहेको बताए । उनले ठूला दल छौं भनेर एकीकृत समाजवादी पार्टीलाई नहेप्न सत्ता गठबन्धनलाई चेतावनी समेत दिए । केही नेता आफ्नो ठूलो पार्टी त्यही अनुसार सिट संख्या छ भन्दै धाक देखाउनेहरुको सरकार प्रदेससभामा भकाभक ढलेको देख्दा बेहोस् बन्न पुगेको बताए ।

अध्यक्ष नेपालले नेकपा एमाले प्रति इंकित गर्दै बढी सिट भएर पनि सरकार टिकाउन नसक्नेले धेरै ’फुइँ हाँक्न नहुने’ बताए । ’मैले जे गरे पनि हुन्छ’ भन्ने ’मुर्ख राजा’ जस्तै ओली अहंकारी र घमण्डी भएकाले आफूहरुले विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपरेको बताए । त्यस्तै उनले पानीजहाज, भ्यू टावर नेपालको आवश्यकता नभएको तर्क गर्नै वर्तमान गठबन्धनको सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले आशा जगाएको बताए ।

उनले आफ्नो पार्टी एकीकृत समाजवादी स्थापना भएको दुई वर्ष मात्र भएकाले आकार ठूलो जस्तो नदेखिए पनि देशभर संगठन फैलँदै गएको भन्दै गएको निर्वाचनमा आफूहरूकै कमजोरीले गर्दा राष्ट्रिय पार्टी बन्न नसकेको भन्दै आत्मालोचनासमेत गरेका थिए ।

Scroll to Top