आफन्तबाटै ठगिन्छन् विदेशिनेहरू

Posted on: May 11, 2018 | views: 149

काठमाडौं– वैदेशिक रोजगारीका लागि विदेश जाने अधिकांश नेपालीहरू आफन्तबाटै ठगिने गरेका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा हरेक वर्ष नेपाली श्रम बजारमा भित्रिने करिब पाँच लाख युवाहरूले अहिले पनि वैदेशिक रोजगारीकै बाटो रोज्न बाध्य छन् । यसरी बाध्यताले वैदेशिक रोजगारीको बाटो समाउनेहरूमध्ये अधिकांश कुनै न कुनै रूपबाट ठगीमा पर्ने परेका छन् । त्यसरी ठगीमा पर्नेमध्ये धेरै आफन्तकै जालमा परेको पाइन्छ । 

वैदेशिक रोजगारीमा पठाउने कम्पनीको कार्यालय हाल काठमाडौंमा मात्रै केन्द्रित हुँदा म्यानपावरसम्म कामदार आइपुग्न आफन्त र विभिन्न तहका एजेन्टहरूको सहारा लिनुपर्दछ । त्यही क्रममा आफन्त र तहगत एजेन्टहरूले विदेसिन चाहनेसँग चर्को शुल्क असुल्ने गर्नाले पाइलैपिच्छे कामदार ठगीमा पर्ने गरेका छन् । गाउँबाट म्यानपावरसम्म आइपुग्नुअगावै कामदारले ठूलो खर्च आफन्त र एजेन्टहरूमाथि गरिसकेको हुन्छ । 

यता म्यानपावरले पनि राम्रो काम छ, दाम राम्रै खर्च गर्नुपर्छ भनेर लोभ देखाउँदै र अन्य विभिन्न वैधानिक शीर्षकमा पनि थप रकम असुल्छन् । यसरी आफूलाई गाउँदेखि म्यानपावरसम्म ल्याउने एजेन्ट र विदेश उडाउने म्यानपावरसम्मलाई पाइलैपिच्छे पैसा छर्दाछर्दै गाउँको एउटा गरिब युवा वा युवती विदेश उड्न नपाउँदै हदैसम्मको गरिब बन्ने गर्दछन्, त्यो पनि आफ्नै आफन्त र नेपाली दाजुभाइबाटै । त्यतिमात्र होइन, विदेश पुगेर पनि भनेअनुसारको काम पाउन निक्कै भाग्यमानी हुनुपर्छ । 

त्यसो त नेपालका म्यानपावर कम्पनीले कम्पनी सञ्चालकले चिनेजानेकोलाई नै विदेश उडाउन बढी जोडबल गर्ने गरेको पाइन्छ । त्यसैगरी गाउँबाट ल्याउने एजेन्टहरू पनि चिनेजानेकै र आफन्त नै हुने गरेको पाइन्छ । विदेसिने युवा–युवतीले चिनेजानेको र आफन्तलाई नै बढी विश्वास गर्ने र विश्वासको फाइदा लिन उनीहरू माहिर हुने गरेको कतिपय पीडित कामदारहरूको गुनासो छ । 

म्यानपावर सञ्चालक, त्यहाँ कार्यरत विभिन्न तहका कर्मचारी, कम्पनीले नियुक्त गरेको एजेन्ट र दर्जनौँ सब–एजेन्टहरू अधिकांशले आफ्नो गाउँघर, छरछिमेक र आफन्तलाई नै पठाउने गरेको पाइन्छ । सम्बन्ध र परिचयको हिसाबले नजिककालाई सहजै मनाउन सकिने भएपछि धेरैजसो युवाहरू आफन्तकै माध्यमबाट विदेश जाने गरेको पाइन्छ र आफन्त र चिनजानकाबाटै उनीहरू ठगिईरहेका पनि हुन्छन् । यसरी ठगी हुने कुरा विभिन्न तथ्य र तथ्याङ्क तथा सर्भेहरूले पनि पुष्टि गरेका छन् । 

व्यवहारतः हेर्दा पनि एउउटा विदेसिने कामदारले आफूलाई पठाउने म्यानपावर सञ्चालक भन्दा उसलाई म्यानपावरसम्म पु¥याउने एजेन्टकै बढी विश्वास गरेको हुन्छ । किनकी उनीहरूबीचको निकटता र घनिष्टता बढेको हुन्छ भने कतिपय म्यानपावरका सञ्चालकहरूलाई भेट्नै मुश्किल पर्ने हुँदा पनि यसप्रकारको घटना भइरहेको अड्कल धेरैको छ । सिधै म्यानपावरमा पुगेर कम्पनीको आधिकारिक व्यक्तिसँग डिल गर्न पाउने अवस्था भएमा कामदार यसरी नठगिने जानकारहरू बताउँछन् । 

त्यसो त स्वयम् व्यवसायीहरू पनि विदेश जान चाहने कामदारहरू सिधै म्यानपावरमै आउनुपर्ने र त्यसबाट ठगीने क्रम अन्त्य हुने दाबी गर्दै आएका छन् । त्यसैले उनीहरूले हाल एजेन्टको सट्टा शाखा कार्यालय खोल्नुपर्छ भनेर सरकारसँग लविङ गरिरहेका छन् । सरकारी नियमअनुसार एजेन्टको प्रमाणपत्र लिएका र कतिपय म्यानपावरले नियुक्त गरेका एजेन्टहरूसमेत हाल धमाधम हटाउने काम भइरहेको छ । यसरी एजेन्टबिहीन व्यवसाय गर्दा कामदार ठगिने क्रम घट्ने विश्वास म्यानपावर व्यवसायीहरूको पनि छ ।  

ठग्ने अरु, दोष म्यानपावरलाई मात्रै ? 

विभिन्न तहमा रहेका ‘तहगत’ एजेन्टहरूले विदेसिने कामदारसँग म्यानपावरमा आइपुग्नुअगावै चर्को रकम असुल्ने गरेको र त्यसको दोष जति सबै म्यानपावर कम्पनी र तिनका सञ्चालकले खेप्नुपरेको गुनासो वैदेशिक रोजगार व्यवसायीहरूको छ । गत वर्षदेखि मलेसियासहित खाडीका ६ वटा मुलुकमा निःशुल्क रोजगारीमा जान पाउने व्यवस्था सरकारले गरेपछि पनि कामदार सरकारले भनेजस्तो र सोचेजस्तो सहजतामा छैनन् ।

उनीहरूसँग अहिले पनि लाखौँ रूपैयाँ असुल गरिरहेका छन् । तर, त्यत्रो रकम आफूहरूले नउठाएको दाबी वैदेशिक रोजगार व्यवसायीहरूको छ । म्यानपावर कम्पनीमा आइपुग्नुअघिनै एजेन्टहरूले सो रकम उठाउने र दोषजति म्यानपावरलाई थोपर्ने पुरानो परीपाटी भएको उनीहरूको भनाई छ । सरकारको पछिल्लो निर्णयपछि पनि व्यवसायीहरूले १० हजार रूपैयाँमात्रै लिँदै आएको दाबी गरिरहेका छन्, तर कतिपय कामदारसँग ७०–९५ हजारसम्म असुल गरेको गुनासो पनि बाहिर आएको छ । 

त्यसो त फ्री भिषा फ्री टिकटको निर्णयअघि डेढदेखि दुई लाखसम्म असुल गर्ने व्यवसायीहरूले अहिले ७०–८० हजारमात्रै उठाइरहेको र यो क्रम विस्तारै न्यून हुँदै जाने सरकारी अधिकारीहरूको दाबी छ । त्यसमा पनि आफन्तबाटै धेरै रकम असुल भएको अधिकांश पीडितहरूको गुनासो बारम्बार आइरहेका छन् । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com