‘अनुमतिप्राप्त हतियार प्रहरीलाई बुझाउँदा व्यवसायी पुरीमाथि गलत आरोप’

Posted on: June 29, 2018 | views: 207

काठमाडौं– जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई घरमा राखेको हतियार प्रहरीलाई बुझाउँदा वैदेशिक रोजगार व्यवसायी रघु पुरीमाथि प्रहरीले अनावश्यक चालबाजी गर्न थालेको छ । प्रहरीको गलत चालबाजीविरुद्ध पुरी आबद्ध रहेको संस्था प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले विज्ञप्ति जारी गरी प्रहरीको नियतमाथि शंका गर्दै व्यवसायी पुरी निर्दोष रहेको दाबी गरेको छ । 

मञ्चका सल्लाहकारसमेत रहेका पुरीलाई नियोजित रुपमा फसाउन र अनावश्यक दुःख दिने अभिप्रायका साथ प्रहरी लागेको दाबी मञ्चले विज्ञप्तिमार्फत गरेको छ । अध्यक्ष चित्रगुप्ता साँवाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उहाँले जिल्ला प्रशासन कार्यलयबाट इजाजतपत्र लिएर वैधानिक रुपमा घरमा राख्नुभएको एक थान राइफल केही दिनअघि प्रहरी महाशाखामै पुगेर बुझबुझारथ गर्नुभएको थियो । तर आफैंले गएर हतियार बुझाएको सन्दर्भलाई अन्य ढंगले समाचार प्रवाह गराउन खोजिनु खेदजनक विषय हो ।’

जिम्मेवार व्यवसायीलाई गुन्डागर्दी र अन्य गतिविधिमा संलग्न व्यक्तिहरुसँगै जोडेर प्रहरीले सही र गलत एकै ठाउँमा मिसाउन खोजेको भन्दै आपत्ती प्रकट गर्दै मञ्चले विज्ञप्तिमा भनेको छ, ‘प्रहरीले जिम्मेवार व्यवसायीको पृष्ठभूमि र दैनिक व्यवसायिक आचरण नबुझी आफैंले लाइसेन्सप्राप्त हतियार बुझाएको विषयलाई अन्यथा अर्थ लगाउनु खोज्नु दुःखद हो ।’

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले आफ्ना सल्लाहकार तथा प्रतिष्ठित ब्यवसायी रघुनाथ पुरीलाई फरक विचारधाराका प्रतिस्पर्धीहरुको उक्साहटमा प्रहरी प्रशासनले नियतबस दुःख दिन खोजिएको भन्दै कडा आपत्तीसमेत जनाएको छ ।

राजनीतिक स्वार्थ साँध्ने गिरोहको उक्साहटमा व्यवसायी पुरीलाई बदनाम गर्न श्रृखलाबद्ध र नियोजित प्रहार गरिएको मञ्चको दाबी छ । ‘द रिभर ओभरसिज’ का सञ्चालकसमेत रहेका पुरीसँग भएको हतियारको बिषयलाई लिएर प्रहरीले अत्यन्तै गलत सूचना प्रवाह गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रहरीलाई उधृत गर्दै सञ्चार माध्यमहरुले पुरीले हतियारको दुरुपयोग गरेको समाचार आएपछि मञ्चले गलत तथ्यको प्रतिवाद गरेको जनाएको छ । 

मञ्चले तथ्यपूर्ण अनुसन्धान गरी सञ्चार माध्यमबाट सही सुचना प्रवाह गर्न प्रहरीलाई आग्रह समेत गरेको छ । ‘हामी व्यवसायी कानूनको पालना गर्ने कुरामा सदैव सचेत छौं । र, गैरकानूनी ढंगले व्यवसायीलाई दुःख दिने व्यक्ति र समूहलाई कानुनको दायरामा प्रहरीले ल्याओस् भनिरहेका छौं । तर उल्टै कानूनको पालना गर्ने व्यवसायीलाई बदनाम गर्ने कार्य सही हुन सक्दैन,’ विज्ञप्तीमा भनिएको छ, ‘यस मञ्चका सल्लाहकार रघु पुरीको व्यवसाय पारदर्शी छ । उहाँ बैदेशिक रोजगार मात्र होइन, जलविद्युत र अन्य सेवामूलक व्यवसायमा पनि स्थापित हुनुहुन्छ । यसक्रममा उहाँको सामाजिक र राजनीतिक प्रतिष्ठाको इष्र्या गर्ने हामीभन्दा फरक विचारधाराका प्रतिस्पर्धी केही व्यक्तिको उक्साहटमा उहाँलाई दुःख दिन खोजिएको प्रष्ट छ ।’

हेर्नुहोस् मञ्चले जारी गरेको विज्ञप्ति–



Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com