नेपाल–मलेसिया ऐतिहासिक श्रम सम्झौता : कामदारको सम्पूर्ण खर्च रोजगारदातालाई, करार अवधी घटाईयो

Posted on: October 29, 2018 | views: 57

काठमाडौ– वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकको रूपमा चिरपरिचित मलेसियासँग नेपालले ऐतिहासिक श्रमसम्झौता गरेको छ । रोजगारीको लागि कामदार जान थालेको करिब दुई दशकपछि नेपाल र मलेसियाबीच कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसिया सरकारको तर्फबाट मानव संशाधनमन्त्री एमकुला सेगरनले सोमबार एक समारोहबीच हस्ताक्षर गरेका छन् । दुई देशबीचको श्रमसम्झौतामा हस्ताक्षर गर्न नेपाल आएको मलेसियाको प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच राजधानीको हायात होटेलमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो । 

सम्झौताअनुसार अब नेपाली कामदार मलेसिया जाँदा लाग्ने सम्पूर्ण खर्च त्यहाँस्थि रोजगारदाता कम्पनीले व्यहोर्नुपर्ने भएको छ । जसअनुसार कामदार पठाउँदा लाग्ने सेवाशुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायतमा लाग्ने खर्चहरू सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्ने छ । त्यस्तै श्रमसम्झौतापछि कामदारको करार अवधी पनि दुई वर्षको मात्रै हुनेछ । यसअघि तीन वर्ष करार अवधी रहँदै आएको थियो । 

श्रम सम्झौताले कामदारको पारिश्रमिक, उचित वातावरण र वासस्थान, स्वास्थ्य सुरक्षा, महिला कामदारलाई विशेष सुरक्षा र संरक्षण प्रदान, विवाद व्यवस्थापन, कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमा, समान नागरिकको हैसियतलगायत व्यवस्थाको सुनिश्चितता गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिएका छन् । 

ऐतिहासिक सम्झौताअनुसार अब नेपाली कामदारले मलेसियामा लेभीवापतको शुल्क पनि तिर्न नपर्ने भएको छ । त्यस्तै हरेक महिनाको ७ गतेभित्र बैंक खातामार्फत कामदारको पारिश्रमिक भुक्तानी गर्नुपर्ने व्यवस्था पनि गरिएको छ भने मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुनेगरी तलब, भत्ता एवम् सुविधा पाउने सुनिश्चितता पनि सम्झौताले गरेको छ । 

रोजगारदाताले कामदारका लागि उचित कार्य वातावरण र वासस्थानको साथै व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको समेत प्रबन्ध गर्नुपर्ने बाध्यकारी व्यवस्था श्रम सम्झौताले गरेको जनाइएको छ । त्यस्तै रोजगारीका लागि मलेसिया गएका नेपाली कामदारलाई विमानस्थलमा ६ घन्टाभन्दा बढी समय कुरान नपाइने, महिला कामदारलाई विशेष सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्ने, रोजगारदाता र कामदारबीच कुनै विवाद उत्पन्न भई कानूनी प्रक्रिया अगाडि बढेको भए मुद्दा विचारणीय रहेसम्म मलेसियामै बस्न पाइनेलगायत व्यवस्था पनि सम्झौताले गरेको छ । 

घर आउन १५ दिनको छुट्टी

ऐतिहासिक श्रम सम्झौताले कामदारको परिवारको अति निकट सदस्यको मृत्यु भएमा नेपाल आउन १५ दिनको छुट्टी पाउने भएका छन् । कामदारको बुबा, आमा, श्रीमान्÷श्रीमती, छोरा वा छोरीको मृत्यु भएमा बढीमा १५ दिनको छुट्टी कामदारले पाउने भएका छन् । यसअघि यस्तो व्यवस्था नहुँदा कतिपयले आफ्नो आफन्तको काजकिरिया पनि छुट्टा–छुट्टै र वर्षौपछि गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । 

कामदारलाई अर्को काम खोज्ने अधिकार

निश्चित कम्पनीका लागि गएका नेपाली कामदारले उक्त कम्पनी बन्द भएको अवस्थामा घर फिर्ती नभई अर्को काम खोजेर गर्न पाउने अधिकारको सुनिश्चितता पनि यो सम्झौताले गरेको छ । त्यतिमात्र होइन तोकिएको कम्पनीले कामदारलाई दुव्र्यवहार गरेमा, शारिरीक वा मानसिक तनाव दिएमा पनि कामदारले अर्को काम खोजेर गर्नसक्नेछन् । 

यससँगै करार अवधी सकिएपछि कामदारको इच्छाअनुसार रोजगारदाता –नयाँ कम्पनी) छनोट गरी काम गर्नसक्नेछन् भने नेपाल फर्किन चाहानेलाई रोजगारदाताले हवाई टिकट उपलब्ध गराईदिनुपर्नेछ । कामदारको राहदानी कम्पनीले राख्ने अधिकार दिइएको छैन । जसअनुसार आफ्नो राहदानी कामदारसँग रहने व्यवस्था गरिएको छ । 

समझदारी कार्यान्वयनका लागि संयुक्त कार्य समूह

दुई देशबीच भएको ऐतिहासिक श्रमसम्झौता कार्यान्वयनका लागि दुवै देशका सरकारी अधिकारीहरू संलग्न रहेको संयुक्त कार्य समूह (प्राविधिक समूह) गठन गरिएको मन्त्रालयले जनाएको छ । दुई देशबीचको यो सम्झौता कामदार लिने र दिनेमात्र नभई द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन कोशेढुङ्गा सावित हुने मन्त्रालयको विश्वास छ । 

वैदेशिक रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले वर्तमान सरकारले सुधारका विभिन्न कदमहरू चाल्दै आएको र नेपाल र मलेसियाबीच सम्पन्न भएको श्रम सम्झौता सोही सन्दर्भको अर्को कदम भएको मन्त्रालयको दाबी छ । 

नेपालबाट मलेसियाले औपचारिक रूपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको छ । दुई देशबीच श्रम सम्बन्ध रहे पनि अहिलेसम्म दुई मुलुकबीच श्रम सम्झौता हुन सकेको थिएन । दुई मुलुकबीच पटक–पटक श्रम सम्झौताको प्रयास भए पनि अहिलेसम्म त्यसले पूर्णता पाएको थिएन ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com