स्थापना दिवसको अवसर पारेर स्पेनमा घोडादौड प्रतियोगीता

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र स्पेनमा रहेका नेपाली डायस्पोराको सहयोगमा नेपाल र स्पेनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्ष पुगेको अवसरमा स्पेनमा घोडादौड प्रतियोगीता कार्यक्रमको आयोजना गरिएको छ ।

स्पेनमा रहेको नेपाली दूतावासले गएको शनिवार म्याड्रिडको हिपोड्रोमो डी ला जज्रबेलामा कार्यक्रमको आयोजना गरेको हो । हिमाल तथा हिमनदीहरूमा परेको जलवायु परिवर्तनको असरबारे चेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ । कार्यक्रममा सगरमाथासहित मकालु, कञ्चनजङ्घा, लोत्से, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण गरी नेपालका आठ अग्ला हिमालको नाम राखिएका आठ वटा घोडाको प्रदर्शनी समेत गरिएको थियो । घोडादौड प्रतियोगीतामा अन्नपूर्ण नामको घोडा प्रथम भएको थियो ।

स्पेन दूतावासले नेपालको संस्कृति र पर्यटन प्रवर्द्धन गरी सन् २०२६ सम्ममा स्पेनबाट प्रतिवर्ष कम्तीमा एक लाख पर्यटक नेपाल पठाउने लक्ष्य लिइएको पनि जनाएको छ । स्पेनका लागि नेपाली राजदूत डा.शर्मिला पराजुली ढकालले विजेता घोडसवारलाई भगवान बुद्धको मूर्ति तथा सहभागी सबैलाई मायाको चिनो प्रदान गरेकी थिइन ।

उक्त कार्यक्रममा नेपाली र स्पेनिस गीतमा ‘अर्केस्ट्रा’ प्रस्तुति गरिएको थियो भने नेपाल र स्पेनका विविध जातजाति र परम्पराको प्रदर्शन समेत गरिएको थियो । कार्यक्रममा स्पेनका लागि विभिन्न देशका राजदूत, कुटनीतिक निकाय, स्पेनको परराष्ट्र मन्त्रालयका अधिकारी, भ्लगर्स, व्यावसायिक क्षेत्र लगायतका नेपाली डायस्पोरा, कलाकार, सञ्चारकर्मी लगायत सयौंको संख्यामा उपस्थिति रहेको थियो ।

Scroll to Top