माउ भत्ता बढाउने, चल्ला कराउने

Posted on: November 25, 2016 | views: 452

सत्ताका लागि लडाइ गरेपनि भत्तामा हाम्रा नेताहरु एकजुट हुन्छन् भन्ने कुरा पछिल्लो एक घटनाबाट पुष्टि भएको नारदको ठम्याइ छ । संविधान संशोधनका बारेमा सत्तार दल र विपक्षी दलबीच चर्को मतभेद छ । केही नेता र विदेशीको स्वार्थका कारण संविधान संशोधनको वहसले नेपाली राजनीति तताएको छ । तर सांसदहरुको भत्ता बढाउन भने सत्तापक्ष, विपक्ष, साना ठूला पार्टीका नेता, सांसद सवै एकमत भए । ‘आफ्नो हात जगन्नाथ’ भन्ने नेपाली उखान झै सांसदहरुले आफ्नो तलव भत्ता आफै वृद्धि गरेर मासिक झण्डै लाख पुर्याएका छन् ।
संविधान संशोधनका बारेमा असन्तुष्टका माग सम्वोधन गर्नुपर्छ, जसरी पनि संशोधन हुनैपर्छ । होइन संशोधन गर्नु हुँदैन । संशोधन गर्यो भने राष्ट्रियता कमजोर हुन्छ, संशोधनका माग फेरी उठ्छन्, त्यसले तनाव सृजना गराउँछ, संशोधन होइन कार्यान्वन गर्नुपर्छ भन्दै आएका छन् । तर सांसदको तलवभत्ता बढाउने बारेमा पनि उनीहरु चुइँक्का बोलेनन् । भूकम्प पीडित लाखांै जनता छाप्रोमा दिनरात काट्न वाध्य छन् । देशका गरिव जनता महंगीको मारले आधापेट खान वाध्य छन्, जनता औषधि खान पैसा नभएर मरिरहेका छन् । अस्पतालको विल तिर्न नसकेर आत्महत्या गरेका छन् । बच्चालाई खुवाउने, पढाउने पैसा नभएर नदीमा हाम्फालेका घटना पनि छन् । त्यसैले हाम्रो तलव सुविधा बढाउन हुँदैन भन्ने आवाज सांसद नेताले उठाएन सकेनन । यसले गर्दा नेताहरुले राष्ट्रका लागि, जनताका लागि यो गर्नुपर्छ, त्यो गर्नुहुदैन, यो गछौं, त्यो गछौं, जे भने पनि आफ्नै स्वार्थका लागि मात्र कराउँदा रहेछन्, यिनीहरुले देश र जनताका लागि केह ीगर्ने रहेछन् भन्ने नारदको निष्कर्ष छ ।
संसदका सदस्य तथा कर्मचारीको पारिश्रमिक र सुविधा महिनामै लाख बढी बनाएपछि त्यसका विरुद्धमा सामाजिक सञ्जालका भित्तादेखि पत्रपत्रिकाका पानामा समेत चर्को विरोधका शव्दहरु पेतिएका छन् । चियापसलदेखि पाँच तारे होटलसम्म, झपडीदेखि महलसम्म यसको विरोध भइरहेको छ तर नेताहरु कानमा तेल हालेर बसेका छन् । कहिले महिना मर्छ र बढेको तलव भत्ता लिनु भन्नेमा मात्र उनीहरुको ध्यान गएको नारदको विश्लेषण छ ।
ब्यवस्थापिका संसदले आईतबार पारित गरेको विद्येयक अनुसार सांसदहरुको मासिक पारिश्रमीक ५५ हजार २ सय ३० रुपैयाँ पुगेको छ । यसअघि उनीहरुले ४४ हजार १८० पारिश्रमिक पाउँदै आएका थिए । त्यस्तै बैठक भत्ता पाँच गुणाले वृद्धि गरेर दैनिक एक हजार पु¥याइएको छ । पारिश्रमिक र भत्ता जोड्दा मासिक झण्डै एक लाख पुग्ने भएको छ ।
नेता सांसदहरुले जनआक्रोशप्रति कान र आँखा छोपेर वसिरहेका बेला तिनै राजनीतिक दलका भ्रातृ संगठनहरु भने तलव भत्ता वृद्धिको विरोधमा सडकमा उत्रिएका छन् । कांग्रेस, एमाले, माओवादीलगायतका १३ विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उनीहरुले ‘तलबभत्ता फिर्ता गर’, ‘राष्ट्रको ढुकुटी सक्न पाइदैन’, ‘यस्ता सांसद चाँहिदैन’ जस्ता नाराहरु लगाएका थिए । विद्यार्थी संगठनहरुले तलव भत्ता वृद्धि फिर्ता नलिए त्यसका विरुद्धमा थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी पनि दिएका छन् । तर विद्यार्थी संगठनहरुको विरोध, विरोधका लागि विरोध मात्र भएको ठम्याइ नारदको छ । नारदको ठम्याइ जस्तै रहेछ विद्यार्थीको विरोध हेरिरहेका एक वृद्धका । ति विद्यार्थीहरुले चर्को स्वरमा कराइरहेका बेला एक वृद्धले भने –“यो विद्यार्थीहरुले चर्चा कमाउन मात्र विरोध गरेजस्तो गरेका हुन् । एकदुई दिन कराउँछन्, त्यतिकै हराउँछन्, केही हुने वाला छैन ।” अर्का वृद्धले उनको भनाइमा समर्थन जनाउँदै भने “ ‘माउ बढाउने, चल्ला कराउने ।’ जनता सडकमा आउलान् भनेर यि शोषक सांसद तथा नेताहरुले कार्यकर्ता सडकमा पठाएका हुन् ।”
ति वृद्धहरुको विश्लेषण सुनेर नारद पनि केही क्षण सोच्न वाध्य भयो । दिमागमा धेरै कुरा खेलायो । अनि नारदले निष्कर्ष निकाल्यो, त्यो त केही दिनमा थाहा भइहाल्छ नि, के दिमाग खियाउनु ।


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com