आगलागी पिडीतले पाए घरमै राहात

रामेछाप । रामेछाप नगरपालिका–७ सुकाजोर स्थित हिलेपानीमा भएको आगलागी पिडीतलाई रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले घरमै पुगेर राहात सामाग्री हस्तान्तरण गरेको छ ।

स्थानिय रामकुमार कार्कीको घरमा शुक्रवार राती अकस्मात आगलागी भएको थियो । आगलागीमा परी मानविय क्षती केही नभएता पनि घरमा रहेको अन्नपात, लत्ता कपडा, नगद, भाडाकुडा सबै जलेर नष्ट भएका छन् ।

त्यस्तै सोही घरका तल्लो तलामा बाधिएका गाईका माउ बाच्छा, २ वटा खसी, कुखुरा समेत जलेर नष्ट भएको रामेछाप नगरपालिका–७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले जानकारी दिए । उनले भने– उक्त आगलागी के कसरी लागेको हो भन्ने बिषय भने खुल्न सकेको छैन् । घरमा भएको क्षतीको विवरण संकलनको काम भइरहेको पनि वडा अध्यक्ष कार्कीले बताए ।

आगलागी पिडीतलाई तत्काल रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रामेछापले घरमै पुगेर राहात हस्तान्तरण गरेको छ । नगरपालिका र रेडक्रसले पिडीतलाई तत्कालको लागि खाद्यान्न, लत्ताकपडा र भाडाकुडा सहित सामाग्रीहरु हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका अध्यक्ष शिब कुमार कार्कीले जानकारी दिए ।

Scroll to Top