चिसापानीमा सुन चोरी गरेर भागेका युवक मन्थलीमा समातिए

रामेछाप । मन्थली नगरपालिका–८ चिसापानीका श्याम सुन्दर श्रेष्ठको घर भित्र पसि रातको समयमा सुन चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

सुन चोरी गरेको अभियोगमा पक्राउ पर्नेमा दार्चुला जिल्ला मारमा गाउँपालिका–४ तपोवन घर बताउने १९ वर्षिय लोकेन्द्र महारा रहेका छन् । महरा बिगत केही महिनादेखी रामेछाप आएर जिल्लाका विभिन्न गाउँमा साबुन, मन्जन, स्याम्पु लगाएतका सामाग्रीहरु विक्रीवितरण गर्दै आएका थिए । सामान विक्री गर्ने क्रममाअसोज ७ गते चिसापानी पुगेका महराले राती भएकाले बास बस्न दिन श्रेष्ठसँग अनुरोध गरेपछि श्रेष्ठले बास दिएका थिए ।

राती श्रेष्ठका सवै परिवारहरु सुतीसकेपछि महराले श्रेष्ठ दम्पती सुतेको कोठाभित्र पसी कोठामा राखेको सुनको तिलहरी चोरी फरार भएका थिए । श्रेष्ठ परिवारले बिहान उठेर हेर्दा महारा सुतेको ठाउँमा नदेखेपछि घरको सामान चेकजाँच गरेका थिए । सो क्रममा सुनको तिलहरी चोरी गरेर महारा भागेको भन्ने थाहा पाएपछि उनीहरुले जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी गरेका थिए ।

सोही उजुरीको आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा असोज ८ गते मन्थली–१ वजारमा रहेको धोवी होटलमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले चोरी गरेको तिलहरी सुन पसलमा लगेर पगालेर टुक्राटुक्रा पारी कागजमा बेरेर राखेको अवस्थामा प्रहरीले पक्राउ गरी चोरी मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतवाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top