रामेछाप । स्थानिय प्रशासनकै आँखा अगाडी क्रसर व्यवसायीले जथाभावी रुपमा कोशीवाट ढुङ्गा, गिट्टी र बालुवा उत्खन्न गर्न रामेछापको सदरमुकाम मन्थली हुँदै बग्ने तामाकोशी नदीको धार नै परिर्वतन गरेर कोशी दोहन गर्दै आएका छन् ।
मन्थली नगरपालिका–१ सुकाजोर खोलामा संचालित मन्थली रोडा ढुंगा उद्योग प्रा.लि.ले क्रसर उद्योगलाई चाहिने कच्चा सामाग्री झिक्नको लागि व्यवसायीले कोशीको धार नै परिवर्तन गरि कोशी दोहन गर्ने काम गरेका हुन् । व्यवसायीले मध्य दिउँसै ठूला ठूला स्काइभेटर डोजर लगाएर कोशीको धार परिवर्तन गरेर कोशीको नदी जन्य पदार्थको दोहन गर्ने काम गर्दै आएका छन् ।
यसरी क्रसर व्यवसायीले रामेछापको सदरमुकाम मन्थली नजिकै तामाकोशी नदीको घाटमा रहेको झोलुङ्गे पुल र आसपासको वस्ती नै जोखिममा पार्ने गरी नदीको धार नै परिवर्तन गरि कोशी दोहन गर्ने कामलाई तिव्रता दिदा पनि स्थानिय निकाय र प्रशासन मुक दर्शक बनेर बस्दा व्यवसायील फाइदा लिदै आएका छन् ।
क्रसर व्यवसायीले कानुन विपरीत रात दिन ठूलाठूला डोजर चलाएर ढुङ्गा, वालुवा र गिट्टी निकाल्ने कामलाई तिव्रता दिदै आएका हुन् । कोशीमा ठूला डोजर लगाउन नपाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि कानुनको वर्खिलाप गर्दै स्थानिय जनप्रतिनिधिहरुको मिलेमतोमा क्रसर व्यवसायीहरुले जथाभावी नदी दोहन गरिरहेको स्थानियको आरोप रहेको छ ।
नदी दोहन गर्ने काममा स्थानिय जनप्रतिनिधिहरुकै संम्लग्नता छ । एक स्थानियले आफ्नो नाम नछाप्ने सर्तमा भने । व्यवसायीको के कुरा नदी दोहनमा प्रत्यक्ष जनप्रतिनिधिहरुकै मुख्य हात छ । जनप्रतिनिधिहरुले नदी दोहन गरेर वालुवा उत्खन गरेवापत ठूलो कमिसन लिने गरेको खुलासा पनि ती स्थानियले गरे ।
बगिरहेको नदीको धार परिवर्तन गर्ने अधिकार कसैलाई छैन् । नदीको धार परिवर्तन गर्नु भनेको कानुन विपरित काम हो । नदी जन्य पदार्थ उत्खनन गर्न मन्थली नगरपालिकाले टेण्डर लगाएको भन्ने जानकारी पाएको छु । यस बिषयमा के भएको तत्काल मन्थली नगरपालिकासँग जानकारी लिएर आवश्यक कारवाहीको प्रक्रिया अघि वढाउने रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए ।
यसरी नियम विपरित नदीको धार नी परिर्वतन गरी नदीजन्य पदार्थ उत्खनन गरेको भन्ने जानकारी आफुले पनि पाएको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले जानकारी दिए । उनले भने– नदी नै फर्काएर नदीजन्य पदार्थ उत्खनन् गरेको भन्ने केही वडा अध्यक्षले मैखिक रुपमा जानकारी गराएसँगै मैले तत्काल मन्थली नगरपालिकाबाट प्राविधिक सहितको टोली पठाएर अनुगमन गरेको र हाललाई उत्खनन गर्ने कार्यलाई रोक्न निर्देशन दिएका छौं ।
कानुन विपरित नदी फर्काएर नदीजन्य पदार्थ उत्खनन गर्न नमिल्ने जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का (कार्की)ले जानकारी दिइन । उनले भनिन्– म तत्काल इन्जिनियर सहितको टोली त्यस स्थानतर्फ पठाउछु । यदी नदीको धार नै परिर्वतन गरेको भेटिए कानुन अनुसार कारवाही हुन्छ