रामेछाप कारागारमा क्षमता भन्दा दोब्बर कैदी

रामेछाप । जिल्ला कारागार कार्यालय रामेछापमा क्षमता भन्दा दोब्बर बढी कैदीवन्दी राख्दा कारागार परिसर अस्तव्यस्त बन्दै गएको छ ।
रामेछापको पुरानो सदरमुकाम रामेछापडाँडामा रहेको कारागार कार्यालय भवनमा १ सय ५० जना कैदीवन्दी अट्नसक्ने क्षमताको भएता पनि उक्त कार्यालयमा हाल ३ सय ३५ जना कैदीवन्दी राखिएको छ । पछिल्लो सयम प्रहरीले विभिन्न अपराधमा संलग्न रहेका फरार व्यक्तिहरुलाई पक्राउ गर्दै कारागार पठाउन थालेपछि कारागारमा थुनुवा कैदीवन्दीको संख्यामा बृद्धि भएको हो ।
त्यसैगरी विभिन्न अपराधमा सजाय भोग्दै आएका कैदीवन्दीहरुलाई विभिन्न बाहिरी जिल्लावाट रामेछाप पठाउन थालेपछि कारागारको क्षमता भन्दा वढी कैदीवन्दी राख्नुपर्ने अवस्था सिर्जना भएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिए । उनका अनुसार हाल कारागार कार्यालय रामेछापमा १७ जना महिला र ३ सय १८ जना पुरुष कैदीवन्दीहरु रहेका छन् ।
भवन अभावमा कैदीवन्दीको संख्या बढी हुँदा एउटा कोठामा १५ जनासम्म कैदी वन्दी राख्नुपर्ने वाध्यता रहेको छ । कारागार कार्यालयमा कैदीवन्दी वढी हुँदा खानेपानीको अभाव सिर्जना हुँदै आएको छ । अर्कोतिर शौचालयको समेत अभाव देखिएको छ । विहान शौच गर्न कैदीवन्दीहरुले पालो कुर्नुपर्ने वाध्यता रहेको दुःखेसो कैदीवन्दीहरुले गर्दै आएका छन् ।

Scroll to Top