७६ बर्षको उमेरमा शान्तिमायाले पाइन नागरिकता

पार्बती कार्की-

रामेछाप । सनाखत बसिदिने कोही नहुँदा नागरिकता बनाउन नपाएकी उमाकुुण्ड गाउँपालिका–७ भुुजीकी ७६ बर्षिय शान्तिमाया सुनुवारले बल्ल शुक्रवार नेपाली नागरिकता प्राप्त गरेकी छिन् ।

२००५ सालमा जन्मिएकी सुनुवारले हालसम्म नेपाली नागरिकता बनाउन पाएकी थिइनन । उनले नागरिकता बनाउन खोज्दा सनाखत बस्नुपर्ने तीनपुस्ता भित्र आफन्त कोही नभएपछि उनी नागरिकता नबनाई बसेकी थिइन । हाल उमाकुुण्ड गाउँपालिका–७ का वडा अध्यक्ष रुद्रमणी नेवार र कार्यपालिका सदस्य मनिता सुुनुवार सनाखत बसेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले शान्तिमायालाई नागरिकता उपलव्ध गराएको हो ।

वडा अध्यक्ष नेवार र कार्यपालिका सदस्य मनिताको साहारामा शान्तिमाया नागरिकता लिन जिल्ला सदरमुकाम मन्थली आएकी थिइन । ७६वर्षको उमेर नेपाली नागरिकता पाएपछि शान्तिमाया खुशीले गद्गद् भएकी छिन् । उनले अब सामाजिक सुरक्षा भत्ता लिने बाटो खुलेको छ । ढिलै भएपनि आफुले नागरिकता पाउँदा ज्यादै खुशी लागेको सुनुवारले बताइन ।

त्यसैगरी सनाखत बस्ने व्यक्ति नहुँदा नागरिकता नबनाई बसेको सोही वडाका धनराज सुनुवारले पनि नेपाली नागरिकता बनाएका छन् । उनको पनि वडा अध्यक्ष नेवार र कार्य पालिका सदस्य मनिता सनाखत बसेपछि प्रशासनले नागरिकता प्रदान गरेको थियो ।

Scroll to Top