रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं–३ रस्नालुका एक कृषकले किवि खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् ।
व्यवसायिक रुपमा २०७१ सालवाट २७ वोट किविको विरुवाट किवी खेतीको शुरुवात गरेका रेगन सुनुवारले तीनै वोटमा फलेको किवि विक्री गर्दा अहिले वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । आफुले लगाएको थोरै विरुवावाट यति धेरै आम्दानी हात पार्न सफल भएपछि सुनुवारले आफ्नो रहको अन्य जग्गामा पनि किवी खेती थप्ने योजनामा रहेका छन् । उनले आफ्नो वारीमा थप १ हजार विरुवा थप्ने योजनामा उनी लागेको कृषक रेगन सुनुवारले जानकारी दिए ।
उनले भने– शुरुमा त विक्री नहोला किन धेरै लगाउनु भन्ने भयो । त्यहि भएर थोरै संख्यामा विरुवा लगाएको थिए । विरुवा ठूलो भएर फल दिन थालेपछि उक्त फलको माग गाउँमै धान्न गारो भयो । अहिले घरमै किवि प्रति केजी ५ सयसम्म विक्री हुने गरेकाले वजारसम्म पनि किवि पुर्याउन नसकिएको पनि कृषक सुनुवारले वताए ।
विरुवा रोपेको पहिलो वर्षबाट नै राम्रो आम्दानी दिन थाल्ने र थोरै मेहेनतमा हुने भएकाले किसानहरुले अहिले यस खेतीलाई व्यवसायीक रुपमा लगाउन थालेका छन् । किवि फल मानव स्वास्थ्यको लागि पनि अत्यन्तै गुणकारी हुने भएकाले पनि उपभोक्ताहरुले किवि महगो मूल्य तिरेर भएपनि खोजि खोजि खाने गरेका छन् । किसानहरुले लगाएको किवि वजारसम्म पुर्याउनै नपर्ने र आफुले सोचेभन्दा वढी मूल्य आउने भएपनि रामेछापका किसानहरु यस खेतीतर्फ आर्कषित भएका हुन् ।
हाल रामेछापको गोकुलगंगा गाउँपालिकाको रस्नालु, वेताली, दोरम्वा गाउँपालिकाको डडुवा, दोरम्वा लगाएतका स्थानहरुमा किसानहरुले किवी खेतीलाई व्यवसायीक हिसावले शुरुवात गरेका छन् । किसानहरुले खेत तथा वारीमा लगाएको किवी फल विक्री गरेर अहिले मनग्ये आम्दानी गर्न थालेपछि गाउँका अन्य युवाहरु पनि किवी खेती गर्न थालेका छन् । किवी फल मानव स्वास्थ्यको लागि अति नै गुणकारी हुने भएकाले पनि वजारमा किवी विक्री वितरण राम्रो हुने गरेको छ ।
किवि खेती लगाउन शुरु गरिएको दोरम्वा गाउँपालिका र गोकुलगंगा गाउँपालिकालाई किवि खेतीको पकेट क्षेत्रको रुपमा घोषणा गरि किवि खेतीलाई सवै किसानहरुको खेत तथा पाखो वारीमा व्यवसायीक रुपमा लगाउन सके अत्यन्तै राम्रो हुने डडुवाका किसान तारावहादुर मोक्तानले वताए । उनले किसानको मागलाई गाउँपालिकाहरुले स्विकारेर अघि वढ्न आग्रह समेत गरे ।