
रामेछाप । धेरै कमाई हुने आशामा वैदेशिक रोजगारीका लागि केही वर्षअघि मलेसिया पुगेका लिखु तामाकोशी गाउँपालीका–६ खिम्तीका विदुर दाहाल बैदेशिक रोजगारीवाट फर्किएर आफ्नै गाउँमा गाईपालन व्यवसायको शुरुवात गरेका छन् ।
धेरै कमाई हुने भन्दै आफुसँगैका साथीहरु गाउँघरवाट वैदेशिक रोजगारीमा गएसँगै आफुहरुलाई पनि साथीहरुको जस्तै धेरै कमाउन इच्छा जागेर आएपछि केही वर्षअघि विदुर पनि धेरै पैसा कमाउने अभिलासा लिएर मलेसिया तर्फ गएका थिए । पहिलो पटक मलेसिया पुगेका विदुरले गाडी चलाउने काम पाए र त्यहीँ काम शुरुवात गरे ।
उनी नेपालवाट मलेसिया पुग्दा जुन मेनपावर मार्फत गएका थिए त्यो मेनपावरले पहिले दिने भनिएको काम भन्दा फरक काम दिएपछि उनी झनै तनाव लिन पुगे । वल्लवल्ल धेरै पैसा लगानी लगाएर रोजगारीको लागि आएपछि केही त कमाएर फर्कने अठोटका साथ काममा लागेका विदुरले सोचेजती कमाउन सकेनन् । उनले दैनिक २० घण्टासम्म काम गर्दा पनि आफुले चित्त वुझ्दो पैसा कमाउन नसकेपछि आफ्ना घरपरिवारको सल्लाह वमोजीम ३ वर्षपछि आफ्नै देश नेपाल फर्किएर आएका हुन् ।
वैदेशिक रोजगारीवाट फर्किएर आएसँगै उनले आफ्नै घरमा गाईपालन व्यवसाय शुरुवात गर्ने काम गरेका छन् । उनले ५ वटा जर्सी गाई खरिद गरेर व्यवसाय शुरुवात गरेका हुन् । अहिले उनले पालेको गाइको दुध दैनिक १ सय लिटर विक्रीवितरण गर्दै आएका छन् । दैनिक १ सय लिटर दुध स्थानिय वजारमा विक्री गर्दा मासिक १ लाख ४४ हजार रुपैयाँ सहजै कमाउँदै आएका छन् ।
Post Views: 266