उचित क्षतीपूर्ति पाउनुपर्ने माग राख्दै सडक अवरुद्ध,मृतकको पोष्र्टमार्टम हुन सकेन

रामेछाप । हिजो भएको यात्रुवाहक बस दुर्घटनामा आफन्त गुमाएका परिवारका सदस्यहरुले उचित क्षतीपूर्तिको माग राख्दै पुष्पलाल राजमार्ग अन्गर्त मन्थली नगरपालिका–२ को मन्थली स्थित आकासे पुल नजिकै र लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङको हलेदेमा सडक अवरुद्ध गरेका छन् ।

वुधवार विहानदेखी आन्दोलनमा उत्रिएका मृतकका आफन्तहरुले दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिहरुलाई तत्काल उचित क्षतिपूर्ति दिनुपर्ने, अरनीको यातायात समितिका जिम्मेवार पदाधिकारीहरु छलफलमा आउनुपर्ने जस्ता माग राखेर दुई स्थानमा सडक अवरुद्ध गरेका हुन् । उनीहरुले दुवै स्थानको सडकमा टिफरले सडक छेकेका छन् भने सोही स्थानमा ठूलो संख्यामा आफन्तहरु सडक छेकेर बसिराखेका छन् ।

मृतकका आफन्तहरुले अरनीको यातायात सेवा समितिका पदाधिकारीसँग छलफल नगरी मृतकको शव समेत पोष्र्टमार्टम गर्न दिएका छैनन् । आन्दोलनमा उत्रिएका उनीहरुले पहिला छलफलवाट उचित क्षतीपूर्तिको सहमतीपछि मात्रै मृतकको शव पोष्र्टमार्टम गर्न दिने अडान राखेका छन् । मृतक १२ जनाको शव हिजोदेखी मन्थली अस्पतालमा राखिएको छ ।

मंगलबार काठमाडांै बाट रामेछाप हुदै ओखलढुंगाको पोल्थलीका लागि छुटेको बागमती प्रदेश ३–०१–००५ ख ९९७५ नम्वरको पूर्व अनरनिको यातायात सेवा समितिको यात्रु बाहक बस मन्थली नगरपालिका ६ मा पर्ने लिलौतिको भिरबाट खसेर तामाकोशी नदीमा पुगेको थियो । उक्त दुर्घटना परी १२ जना यात्रुको मृत्यू भएको थियो । उक्त दुर्घटनामा परेर ८ जना घाईते भएका छन् भने अझै दुई जना वेपत्ता रहेका छन् ।

मुख्य सडक बन्द भएपछि दोलखाका केही गाउँपालिका र रामेछापको उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाबाट सदरमुकाम मन्थली हुँदै राजधानी र तराईका जिल्लाहरुमा जाने तथा जिल्लाका ग्रामिण भेगमा चल्ने सम्पूर्ण यातायातका साधनहरु ठप्प भएका छन् । अहिले अवरुद्ध सडक खुलाउन तिल्पुङको हलेदेमा ईलाका प्रहरी कार्यालय धोविबाट प्रहरी निरीक्षक सहितका सुरक्षाकर्मीले पहल गरिरहेको र मन्थलीको सडक अवरुद्ध खुलाउन प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन तिमिल्सिनाको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

Scroll to Top