
रामेछाप । दोरम्वा शैलुङ्ग गाउँपालिकाले बिगत वर्षदेखी मृत्यु भइसकेका जेष्ठ नागरिकलाई पनि मासिक रुपमा सामाजिक सुरक्षा भत्ता रकम बितरण गर्दै आएको खुलासा भएको छ ।
दोरम्वा शैलुङ्ग गाउँपालिकाको गएको आर्थिक वर्षमा महालेखापरीक्षकको कार्यालयले गरेको अन्तिम लेखापरीक्षणको रिर्पोट सार्वजनिक गरेको प्रतिवेदनमा मृत्यु भइसकेका नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको तथ्य बाहिरिएको हो । दोरम्वा शैलुङ्ग गाउँपालिकाले यसअघि सामाजिक सुरक्षा भत्ता लिदै आएका व्यक्तिको मुत्यु हुनासाथ निजको नाम अभिलेखवाट हटाउनु पर्नेमा उक्त कार्य नगरी कानुन बिपरित नियमित भत्ता बितरण गर्दै आएको थियो ।
उक्त बिषयमा महालेखा परीक्षकको टोलीले दोरम्वा शैलुङ्ग गाउँपालिका–३ र वडा नं ७ को मृत्यु दर्ताको अभिलेख र वडा नं. २ को लगत कट्टाको अभिलेख परीक्षण गर्दा मृत्यु भइसकेका लाभग्राहीको नाममा मृत्युपछि पनि निजको परिवारका सदस्यहरुले सामाजिक सुरक्षा भत्ता नियमित रुपमा बुझ्दै आएको भेटिएको थियो ।
मृत्यु पछि सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले तत्काल उक्त रकम सम्वन्धित पक्षसँग असुल उपर गरी संघीय संचित कोषमा दाखिला गर्न निर्देशन दिएको छ । यता दोरम्वा शैलुङ्ग गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत उज्वल पाठकले भने वडा सचिव नयाँ भएकाले सामाजिक सुरक्षा भत्ता वितरणमा त्रुटी भएको बताए ।
