फुलासीमा व्यवसायीक रुपमा बाख्रा पालन

रामेछाप । मन्थली नगरपालिका वडा नं १३ फुलासी चुहानटारका किसान खिमबहादुर अधिकारीले व्यवसायिक रुपमा बाख्रा पालनको शुरुवात गरेका छन् ।
रोजगारीको लागि काठमाण्डौं हानिएका अधिकारीले त्यहाँ पनि केही प्रगती गर्न नसकेपछि गाउँमै फर्किएर व्यवसायिक रुपमा बाख्रा पालनको शुरुवात गरेका हुन् । अहिले उनले नमुना कृषि तथा पशु फर्म दर्ता गरि जमुनापारी क्रस र बोयर जातका गरि ५० वटा बाख्रा पाल्दै आएका छन् । आफ्नै जमिनमा प्रसस्त मात्रामा डाले घाँस भएकाले बाख्रा पालन गर्न उनलाई सहज भएको हो ।
बाख्राबाट जन्मिएका पाठापाठीको गाउँमै अत्याधिक माग रहेकाले फर्मवाट उत्पादित बाख्रा र बोका गाउँमै पुर्याउन नसकिएको किसान अधिकारी बताउँछन् । पाठापाठीको माग गाउँघरमै धेरै माग छ । माग अनुसारको पाठापाठी नै पुग्न सकेको छैन् । फर्मलाई थप वढाएर अरु पनि बाख्रा थप्ने लक्ष्य लिएको उनले बताए ।
तीन लाखको लगानीमा शुरुवात गरेको नमुना बाख्रा फर्ममा अहिले २० लाख बराबरको बाख्रा तथा बोका रहेका छन् । उनले फर्मवाट उत्पादित बाख्राका पाठापाठी बिक्रीवाट बार्षिक ३ देखी ५ लाख रुपैयाँसम्म घरमै बसिबसि कमाई हुने गरेको छ । किसान अधिकारीले पालेका बाख्रा उत्कृष्ठ देखेपछि मन्थली नगरपालिकाले युवालक्षित कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ नगद सहित पुरस्कार समेत पाएका छन् । नगरपालिकाले उत्कृष्ठ पशुपालक किशान भनेर सम्मान गर्दा आफुलाई ज्यादै खुशि लागेको अधिकारी बताउँछन् ।
उनले पशुपालनको अलावा तरकारी खेती समेत गर्दै आएका छन् । कृषि र पशुपालन दुवै पेशा अंगालेका अधिकारीलाई उनकी श्रीमती बिन्दा अधिकारी र दुईवटी छोरीले समेत सहयोग गर्दै आएका छन् । दुवै पेशा एकजनाले भ्याउँनै गाह्रो हुन्छ । त्यसैले पढन् विद्यालय जानु अघि दुईवटी छोरीले घाँस काटेर ल्याइदिन्छन् वाँकी काम आफुले श्रीमान्लाई सहयोग गर्दै आएको बिन्दा बताउँछिन् ।

Scroll to Top