रामेछाप । कानुन विपरित व्यवसायीसँग मिलेमतोमा अवैद्यानीक रुपमा जिल्लाभर क्रसर उद्योग दर्ता गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयलका प्रमुखले नागरिकले कार्यालयमा माग गरेको सूचना समेत लुकाउँदै आएका छन् ।
क्रसर व्यवसायीसँग आर्थिक चलखेलमा परि सरकारी नियम विपरित मनलाग्दी रुपमा जिल्लामा क्रसर उद्योग दर्ता गर्दै आएको घरेलु कार्यालयसँग जिल्लामा दर्ता भएका क्रसर उद्योग सम्वन्धी सूचना लिखित रुपमा माग गर्दा उक्त सूचना दिन नमिल्ने भन्दै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुबोध कुमार शाहले सूचना लुकाएका हुन ।
जिल्लामा कति क्रसर उद्योग दर्ता भएका छन् भनी केही नागरिक समाजका सदस्यहरुले घरेलु कार्यालयसँग माग गरेको सूचनाको वेवास्था गर्दै प्रमुख शाहले माग गरिएको सूचना कार्यालयमा गोप्य रहने भन्दै सूचना दिन अस्विकार गरेका हुन् । घरेलु कार्यालयले दर्ता गरेका अधिकासं क्रसर उद्योग कानुन विपरित रहेका छन् ।
घरेलु कार्यालयले खाँडादेवी गाउँपालिका–१ मा सुनकोशी खाँडादेवी बालुवा प्रशोधन उद्योग प्रा.लि., मन्थली नगरपालिका–१ मा मन्थली रोडा ढुंगा उद्योग प्रा.लि. र अन्य १९ वटा वालुवा प्रशोधन उद्योग गरि कुल २१ वटा क्रसर उद्योग दर्ता गरेको छ । दर्ता गरेका सवै उद्योग सरकारी मादण्ड विपरित रहेका छन् । सरकारले बालुवा प्रशोधन उद्योग दर्ताका लागि राजमार्गवाट २ सय मिटर टाढा, खोला वा नदी किनारवाट २ सय मिटर टाढा हुन पर्ने उल्लेख छ ।
त्यस्तै शिक्षण संस्था, धार्मीक, सांस्कृतीक, परातात्विक महत्व र स्वास्थ्य संस्थाबाट ५ सय मिटर टाढा, पक्की पुलवाट ५ सय मिटर, वन क्षेत्रवाट ५ सय मिटर, बस्तीवाट ५ सय मिटर, हाइटेस्सन लाइनवाट २ सय मिटर, जलाशय पोखरीवाट ५ सयमिटर र चुरे पहाडको फेदीवाट १ किलोमिटर टाढा भए मात्रै क्रसर उद्योग दर्ता गर्न निर्देशन दिएको भएता पनि सरकारी मापदण्ड कुल्चेर घरेलु कार्यालयले मनलाग्दी रुपमा क्रसर उद्योग दर्ता गर्दै आएको हो ।
जिल्लाभर दर्ता भएका २१ वटै क्रसर उद्योगले कुनै पनि मापदण्ड पुरा गरेका छैनन् । यसरी मापदण्ड विपरित क्रसर उद्योग दर्ता गरेको बिषयमा पटकपटक विभिन्न सभासमारोहमा आवाज उठेता पनि घरेलु कार्यालय भने मापदण्ड पुरा गरेर मात्रै उद्योग दर्ता गरेको भन्दै पन्छिदै आएको छ । कार्यालयसँग मापदण्ड पुरा भएका कागजात माग गर्दा भने सो कार्यालयले सूचना दिन नै नमिल्ने भन्दै सूचना लुकाउँदै आएको छ । नागरिकले सूचना माग गर्दा सूचना नदिई लुकाउने प्रमुखलाई हदैसम्मको कानुनी कारवाही गरिनुपर्ने उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र शर्माले बताए ।
उनले भने– कानुनलाई मिच्दै व्यवसायीसँग आर्थिक चलखेलमा परेर उद्योग दर्ता गर्ने अनी उद्योग दर्ता गर्दा पेश गरेका कागजाता माग गर्दा दिन नमिल्ने भन्दै लुकाउने । यसवाट पनि के पुष्टि हुन्छ भने घरेलु कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा क्रसर उद्योग दर्ता भएका हुन् । उनीहरु सवैलाई कानुनी दायरमा ल्याउनुपर्छ ।
अनुगमन गर्ने जिम्मेवारी निकायको सदस्य समेत रहेको घरेलु कार्यालय उद्योग दर्ता गरेर चुपचाप बस्दै आएको छ । जिल्लामा क्रसर उद्योगको अनुगमन गर्न जिल्ला समन्वय समितिको संयोजक्तवमा गठित समितिले पनि खासै प्रभावकारी अनुगमन गर्न सकेको छैन् । अनुगमन नहुँदा प्रत्यक्ष रुपमा क्रसर व्यवसायीले मनलाग्दी रुपमा नदी दोहन गर्दै आएका छन् ।