डिभिजन वन कार्यालयको काम प्रभावित

रामेछाप । डिभिजन वन कार्यालय रामेछापमा लामो समयदेखी दरवन्दी अनुसारका कर्मचारीको पदपूर्ति हुन नसक्दा कार्यालयले सम्पादन गर्ने दैनिक कामहरु प्रभावित हुँदै आएको छ । 
कार्यालयमा अधिकृत स्तरको नवौं÷दशौं तहको वन अधिकृत देखी चौकीदार समेत गरि ४५ जनाको दरवन्दी भएको डिभिजन वन कार्यालयमा हाल १९ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । कर्मचारी अभावका कारण जिल्लाका विभिन्न सामुदायिकको स्थलगत अनुगमन, सामुदायिक वनमा भएको फडानी, चोरी निकासी लगाएतका कामहरु समेत गर्न सकेको छैन् । 
डिभिजन वन कार्यालय माताहतका जिल्लाका ६ वटा सव–डिभिजन कार्यालयले कर्मचारी अभावका कारण काम गर्न सकेका छैनन् । कर्मचारी अभावको विषयमा पटकपटक प्रदेश सरकारलाई पत्राचार गर्दा समेत अहिलेसम्म कर्मचारी नपठाएको डिभिजन वन कार्यालय रामेछापका डिभिजन अधिकृत ओमसागर भण्डारीले जानकारी दिए । 
उनले भने– कार्यालयमा कर्मचारी नै छैनन् । जिल्लामा विभिन्न स्थानिय तहहरुमा व्यापकरुपमा सामुदायिक वन फडानी भएको, काठको चोरी निकासी भएको लगाएतका विभिन्न समस्याका बिषयमा स्थानियहरुले जानकारी गराउँदा पनि त्यस क्षेत्रमा कर्मचारी खटाउन सकिएको छैन् । कर्मचारी नभएकाले भएका कर्मचारीहरुलाई आलोपालो प्रणाली मार्फत काममा खटाउँदै आएको डिभिजन वन अधिकृत भण्डारी बताउँछन् । 
हाल डिभिजन वन कार्यालयमा  अधिकृत स्तर सातौ तहमा ३ जना (वन तर्फ) अधिकृत सहायक पाँचौ तहमा १ जना अधिकृत (प्रशासन), अधिकृत सहायक पाँचौ (लेखा) १ जना, खरिदार चौथो तह (प्रशासन) १ जना, वन रक्षक १८ जना, हलुका सवारी चालक १ जना र चौकीदार १ जना गरि २६ जनाको दरवन्दी रिक्त रहेको डिभिजन वन कार्यालय रामेछापले जनाएको छ । कर्मचारी नहुँदा लामो समयसम्म कार्यालय समेत खुल्दैनन् । 
कर्मचारी अभाव हुँदा सव–डिभिजन कार्यालय हिमगंगा, चिसापानी, धोबी, दोरम्वा, खाँडादेवी र ठोसेको काम प्रभावित हुँदै आएको छ । ती कार्यालयमा कर्मचारी नहुँदा सेवा लिन आएका सेवाग्राहीहरु काम विना नै फर्कने गरेका छन् । वन सम्वन्धि काम लिएर बल्लबल्ल सव–डिभिजन वन कार्यालय ठोसेमा पुग्दा कर्मचारी नभएको भन्दै आफु त्यतिकै फर्कनु परेको उमाकुण्ड गाउँपालिका वडा नं–२ वाम्तीका बिष्णु कार्कीले जानकारी दिए । 
उनले भने–टाढाको वाटो मरीतरी कार्यालयमा पुगे । कर्मचारी छैनन् तपाइको काम अहिले हुँदैन भन्दै कार्यालयमा भएका कर्मचारीहरुले फर्काउने गरेको छन् । कम्तीमा कार्यालयमा कर्मचारी त राख्नु पर्ने हो । 
Scroll to Top