चट्याङ लागेका घाइतेको उपचारमा आर्थिक अभाव

रामेछाप । मन्थली नगरपालिका–३ कठजोर (ठूलीमदौ) मा शुक्रवार दिउँसो अकस्मात आएको हावाहुण्डरीसँगै परेको चट्याङ लागेर घाइते भएका बिरामीको उपचारमा आर्थिक अभाव भएको छ ।
रणजोर खोलामा कपडा धुदै गर्दा अकस्मात परेको चट्याङबाट ठूलीमदौकी ४० बर्षिय सुमित्रा कार्की र उनकी ९ बर्षिय छोरी अनिता कार्की घाइते भएका छन् । घाइते मध्ये सुमित्राको अवस्था गम्भिर रहेको छ । हाल घाइते दुवैजनाको किर्तीपुर अस्पतालमा उपचार भइरहेको र आमाको अवस्था अहिले पनि गम्भिर रहेको उपचारमा संम्लग्न चिकित्सकले बताएको मन्थली नगरपालिका–३ कठजोरका वडा अध्यक्ष कृष्णगोपाल थापाले जानकारी दिए ।
उनका अनुसार–घाइतेको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा आर्थिक समस्या परेकाले आफ्नो नेतृत्वमा रकम उठाउन लागिएको छ । उठेको रकम तत्काल उनको उपचारको लागि पठाउने र थप रकम जिल्लामा उठाउने काम भइरहेको पनि अध्यक्ष थापाले बताए ।
त्यसैगरी शुक्रवार नै दोरम्वा शैलुङ्ग गाउँपालिका–१ डडुवामा परेको चट्याङमा परी स्थानिय तुलवहादुर तामाङको खोरमा बाधि राखेको १५ वटा बाख्रा मरेका छन् । चट्याङसँगै आएको हावाहुण्डरीका कारण धेरै किसानहरुले खेतमा लगाइएको अन्नवाली र फलफूल खेतीमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए ।

Scroll to Top