रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ पुस्ताको भावना र चाहना अनुसार पार्टीलाई अघि वढाउने बताएका छन् ।
साे कुरा उनले मंगलबार नेपाली काँग्रेस पार्टी कार्यालयले गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बताएका हुन् । उनले अब पार्टी पहिलाको जस्तै कार्यशैलीले अघि वढ्न नसक्ने भन्दै तत्काल पार्टीको अधिवेशन बोलाएर कार्यकर्ता सँगै बसेर समिक्षा गरेर अघि नबढे आगामी चुुनौती सामाना गर्न नसक्ने बताए ।
पछिल्लो समय पार्टीका नेताहरुको विरुद्धमा एकपछि अर्को गर्दै सामाजिक सञ्जालमा हुने गरेको टिकाटिप्णीले कसैको हित नहुने भन्दै नेता सिंहले सबै नेता कार्यकर्ताहरु यसतर्फ नलागी पार्टीको हितको निमित्त काम गर्न आग्रह गरे । यसघि पार्टीले पुराना नेता र कार्यकर्ताहरुको मूल्याङ्कन गर्न नसक्दा उनीहरुमा एक किसिमको निराशा पैदा भएको भन्दै पार्टीले पुराना नेता तथा कार्यकर्ताहरुको मूल्याङ्कन गर्न सक्नुपर्ने बताए ।
त्यसैगरी नेपाली काँग्रेस नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले आगामी दिनमा काँग्रेसले आफ्नो नीति र कार्यशैलीमा भएको कमीकमजोरीका बिषयमा गम्भीर समीक्षा गरेर अघि बढ्न नसके आगामी दिनमा झनै समस्या आउने भन्दै यसतर्फ केन्द्रिय स्तरका नेताहरु गम्भिर भएर लाग्नुपर्ने बताए ।