रामेछाप कारागारका कैदीबन्दी असुरक्षित

रामेछाप । जिल्ला कारागार कार्यालय भित्र थुनुुवा कैदीवन्दी राख्न लगाइएको सुरक्षा वाल जोखिम हुँदा कैदीवन्दी असुरक्षित भएका छन् ।

जिल्ला कारागार कार्यालय भित्र पुरुष र महिला बन्दीहरुको बिचमा लगाइएको पर्खाला (गाह्रो) भत्किन लागेको छ । कारागार कार्यालय निमार्ण हुँदा माटो र ढुुङ्गाको वाल लगाइएकोमा उक्त वाल पुरानो भई अहिले भत्किन लागेको हो । ३३ मिटर लम्वाई र १३ फिट उचाई भएको उक्त गाह्रोको ठाउँठाउँमा बर्षातको पानी चुुहिएर वालको गाह्रो भत्कीन थालेपछि कैदिवन्दी त्रसित हुन थालेका छन् ।

वाल भत्किन लाग्दा कारगार भित्र रहेका महिला र पुरुष गरी ३ सय ३४ जना थुनुवा बन्दीहरु त्रासमा बस्न विवश रहेका छन् । अत्यन्तै जोखिममा रहेको उक्त वाल निमार्ण कार्यालयले तत्काल निमार्ण गर्नुपर्ने भन्दै प्राविधिक स्टमेट समेत गरी वजेट अर्थ मन्त्रालयमा माग गरेको थियो । प्राविधिक स्टमेट अनुसार वाल निमार्ण गर्न २८ लाख माग गरेकोमा जम्मा ९ लाख ५० हजार मात्रै रकम प्राप्त भएको छ ।

हाल सो रकम पनि अर्थ मन्त्रालयले वजेट रोक्का गरेपछि यस वर्षपनि उक्त वाल निमार्ण हुन नसक्ने कारागार कार्यालय रामेछापका जेलर रुपलाल तामाङले जानकारी दिए । उनले भने– हिउँदको समयमा त जसोतसो चल्छ । बर्षातको समयमा चिराचिरा परेको गाह्रोमा पानी छिर्दा गाह्रो कतिखेर भत्कन्छ भन्ने डर सधै भइनै रहने गरेको छ । कारागार कार्यालय रामेछापमा जम्मा २ सय ५० जना कैदीवन्दी राख्ने क्षमताको भवन भएता पनि हाल ३ सय ३४ जना कैदीवन्दीहरु कोचाकोच तरिकाले राखिएको छ । हाल उक्त कारागारमा महिला १८ जना, नावालिका १ जना र बाँकी पुरुष बन्दी रहेका छन् ।

कारागार कार्यालयमा खानेपानी, विद्युत र कैदीवन्दीको लागि आवश्यक वजेटको समेत अभाव रहेको छ । रकम अभाब हुँदा खानोपनीको रकम समितिलाई भुक्तानी गर्न सकिएको छैन भने कैदीवन्दी बिरामी पर्दा औषधी खरिद गर्ने समेत रकम अभाव भएको कारगार कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top