रामेछापको गर्जाङमा राखियो नेपालकै ठूलो राष्ट्रिय झण्डा

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका–१ चुचुरे स्थित गर्जाङमा नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डाको झण्डोतोलन गरिएको छ ।

बुद्ध जयन्तीको अबसर पारेर गर्जाङ खिम्ती समाज सेवा समुहले आयोजनामा रमिते डाँडामा राखिएको उक्त झण्डाको झण्डोतोलन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजबहादुर खड्का (दिनेश)ले गरेका थिए । झण्डोतोलन गर्दै उनले देश भरीकै ठूलो झण्डा आफ्नो पालिकामा राख्न पाउँदा गौरवको महसुुस भएको बताए ।

उनले– गोकुलगंगा गाउँपालिका धार्मिक,सांस्कृतीक तथा पर्यटकीय हिसाबले पनि अन्य स्थानिय निकाय भन्दा पनि अगाडि रहेकोमा राष्ट्रिय झण्डाको ओझले अझ गर्विलो बनाएको भन्दै आयोजक पक्षलाई धन्यवाद समेत दिए ।

समुन्द्रि सतहदेखी करिब २५ सय मिटरको उचाईमा रहेको रमिते डाँडामा ७५ फिट अग्लो पोलमा ४५ फिट लम्बाई र २२ फिट चौँडाई भएको झण्डा राखिए पछि उक्त झण्डाले राष्ट्रिय रेकर्ड कायम गरेको आयोजक संस्थाका अध्यक्ष श्याम कार्कीले दावी गरे ।

उनले देशका अन्य स्थानमा रहेका ठुला झण्डाहरुको रेकर्डलाई तोड्न सफल भएको बताए । यसअघि गोर्खा जिल्लामा ४० फिट अग्लो राष्ट्रिय झण्डा राखिएको रेर्कड छ । त्यसलाई पछि पार्दै गोर्खामा रहेको झण्डा भन्दा ५ फिट बढी र अग्लो झण्डा रामेछापमा राखिएको अध्यक्ष कार्कीले दाबी गरे ।

गोकुलगंगामा स्थित गर्जाङको रमिते डाँडालाई मान्छे उड्ने डाँडा समेत भनेर चिनिदै आएको छ । सो स्थानमा धेरैवर्ष पहिले एक जना लामा गुरु रमिते डाँडाबाट उडेर खोलापारी दोलखाको पट्टी रहेको अर्को डाँडामा पुग्थे भन्ने किंबदन्ती रहेको छ । सोही आधारमा रमिते डाँडालाई स्थानिय बुढापाकाहरुले पनि पहिले देखिनै आन्तरिक पर्यटन क्षेत्रको रुपमा उपयोग गर्दै आएकोले यसको छुट्टै महत्व रह्दै आएको छ ।

धार्मिक तथा पर्यटकीय सुन्दरताले भरिएको उक्त स्थानमा अझै पनि लामागुरु बसेर ध्यान गर्ने गुफा, लामा गुरु हिडेको पाईलाहरु र विभिन्न कलात्मक आकृतीहरु देख्न सकिन्छ । यसको संरक्षण र प्रर्वदनको लागि स्थानिय गाउँपालिकाले योजना अघि वढाएर काम गर्नुपर्ने बताए ।

Scroll to Top