प्रधानमन्त्री कार्यक्रम दुईवटा वडाले सम्झौता गरेनन्

रामेछाप । रामेछाप नगरपालिकाका दुईवटा वडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजना अझै सम्झौता गरेका छैनन् ।

चालुु आर्थिक वर्षको दश महिना बितिसक्न लाग्दा पनि रामेछाप नगरपालिका वडा नं १ र ७ मा हालसम्म योजना सम्झौता नै हुन सकेको  छैन् । सात वटा वडा कार्यालयहरु मध्ये ५ वटा वडाले योजना सम्झौता गरी कार्यक्रम समेत सम्पन्न गरि सकेका छन् । दुई वटा वडाले भने हालसम्म योजना नै सम्झौता नगरेको रामेछाप नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक सहायक सोनिका तामाङले जानकारी दिइन ।

उनले भनिन्– योजना सम्झौता गर्न नआएका ती वडाका वडा अध्यक्ष मार्फत ताकेता गरिदिन आग्रह गरिरहेका छौं । जतिसक्दो चाडो सम्झौता गरेर काम सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले लिएको पनि प्राविधिक सहायक सोनिकाले बताइन ।

चालु आर्थिक वर्ष २०७९÷०८० मा सूचिकृत बेरोजगारहरूलाई न्यूनतम रोजगारी सुनिश्चितताका लागि प्राप्त भएको ४७ लाख ९७ हजार रुपैयाँ बजेटबाट ७३ जना बेरोजगारलाई एक सय दिनको रोजगार प्रदान गरिने छ । चालु आर्थिक वर्षमा ६११ जना व्यक्ति बेरोजगारमा सूचिकृत भएको रामेछाप नगरपालिकाले जनाएको छ ।

जसमध्ये सडक पूर्वाधार विकासका काममा २६ जनालाई १ सय दिनको रोजगारी दिँदा १७ लाख ८१ हजार रुपैयाँ बजेट खर्च भएको छ । बेरोजगार सूचिकृत भएका व्यक्तिले दैनिक ६५२ रुपैयाँ दरले ज्याला पाउने गरी एक सय दिनको रोजगारी पाउने छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५ फागुन १ गतेबाट देश भरका ७ सय ५३ ओटै स्थानीय तहमा संञ्चालन भएको हो । १८ वर्ष देखी ५९ वर्ष उमेर समूहका नागरिकहरू यस कार्यक्रममा सहभागीता जनाउन पाउने छन् ।

Scroll to Top