माओवादी सरकारमा गएपछि जनता र पार्टीबीचको सम्वध टाढियो–प्रचण्ड

रामेछाप । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहालले आफ्नो पार्टी सरकारमा गएपछि जनता र पार्टीबिचको समन्वध टाढिदै गएको बताएका छन् ।

सो कुरा उनले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्ने क्रममा बताएका हुन् । उनले हिजो हामी सामन्तवाद निरंकुशविरुद्ध बन्दुक बोकेर लडाइँमा थियौं । त्यसबेला माओवादी र जनताको सम्बन्ध पानी र माछाको जस्तै थियो, अहिले त्यो सम्वन्ध कायम छैन् । विगतमा हामीले गरेका त्यस्तो सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागि परेको भन्दै शान्ति सहकार्य र एकताको सन्देशसहित मुलुकलाई नयाँ युगतिर लैजानु अहिलेको आवश्यकता रहेको बताए ।

उनले मुलुकमा स्थायी शान्ति, सुशासन र समृद्धिका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए । त्यस्तै देशमा आमूल परिवर्तन ल्याऔं भनेर सैद्धान्तिक रुपमा भनेता पनि व्यवहारमा र जनताको दैनिकीमा अझै परिवर्तन आउन नसकेकाले हामी कहीँ न कहीँ अल्मलिएको छौंकी भन्ने आफुहरुलाई लागेको पनि प्रधानमन्त्री दाहालले बताए ।

त्यसैगरी प्रधानमन्त्री दाहालले हिजो हामी रक्तपातपूर्ण क्रान्तिमा होमिएका थियौं, तर आज हामी समाजवादका निम्ति रुपान्तरणको शान्तिपूर्ण अभियानमा जुटेकाले फेरि जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार भएर समाजवादी क्रान्ति ल्याउन आवश्क रहेको बताए । उनले आगामी तीन महिनाभित्र नयाँ नयाँ वातावरण बनाउने र अर्को तीन महिनामा आफ्नो पार्टीलाई जीवन्त रुप दिने त्यसपछि आफ्नो पार्टीले २०६४ को निर्वाचनको जस्तै परिणाम ल्याउन गाह्रो नहुने पनि प्रधानमन्त्री दाहालले बताए ।

उनले अहिले आफ्नो नेतृत्वको सरकार मुलुकमा व्याप्त विकृती र विसंगतीको अन्त्य गर्न लागि परेको बताए । अहिलेको सरकार मुलुकमा भएको भ्रष्टाचारको अन्त्य गरी सुशासन र विकासका लागि अघि वढ्दै गरेकाले अहिलेको जुन गठवन्धनको सरकार छ त्यसमा कुनै पनि समस्या नरहेको बताए । अहिले हामी सुशासन, सामाजिक न्याय र समृद्धिका कुरामा आफुहरु एकढिक्का भएकाले प्रतिक्रियावादीहरुले चलाएको बाहिरी हल्लाको पछि नलाग्न पनि सबै जनतालाई प्रधानमन्त्री दाहालले आग्रह गरे ।

उनले अहिलेको सरकारले ठूला आयोजना निमार्णमा ध्यान केन्द्रित गरेर आफ्नो कार्यकालमा जनताको मन जित्ने किसिमले काम गर्ने बताए । उनले भने– यो पटक म जसरी भए पनि जनताको मन जित्ने गरी काम गर्छु । उनले एउटै जलविद्युत आयोजना १० हजार मेगावाटसम्मको बनाउन पाए मुलुकले आर्थिक समृद्धिको बाटो हिड्न सक्ने बताए । त्यस्तै अहिलेको सरकारले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न लागि परेको पनि प्रधानमन्त्री दाहालले बताए ।

उनले दोरम्बा हत्याकाण्ड शान्ति प्रक्रिया भाँड्नका लागि गराइएको सुनियोजित र कायरतापूर्ण हत्याकाण्ड भएको बताए । सरकार र माओवादीबीच दाङको हापुरेमा शान्ति वार्ता भइरहेको बेला २०६० साउन ३२ गते दोरम्बामा माओवादीका २१ जना नेता कार्यकर्ताको हत्या गरिएको थियो ।

दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं दोरम्बा स्मृति दिवस कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल, माओवादीका नेता जनार्दन शर्मा र बागमती प्रदेश सदस्य युवराज चौलागाई लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Scroll to Top