महासमिति सदस्य टुग्याउन रामेछाप काँग्रेस तात्यो

रामेछाप । नेपाली काँग्रेस रामेछापको जिल्ला अधिवेशन सम्पन्न भएको दुईवर्ष बितेपनि महासमिति सदस्यको टुङ्गो लगाउन बाँकी रहेकाले यहीँ मंसिर २३ गतेभित्र महासमिति सदस्य पदलाई पूर्णता दिन नेपाली काँग्रेस तातेको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापको शनिवार पार्टी कार्यालयमा बसेको २० औं पार्टीको बैठकले पार्टी केन्द्रिय कार्यालयको परिपत्र अनुसार मंसिर २३ गतेसम्म महासिमिति सदस्यको नाम टुङ्याउने निर्णय गरेको छ । पार्टीले निर्वाचन प्रक्रिया भन्दा पनि सहमतीको आधारमा यहीँ मसिर १७ गतेसम्म सहमतीको प्रयास गरिन, यदी सहमती हुन नसके मंसिर २३ गते निर्वाचन गराउने गरी निर्णय भएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव दीपक खड्काले जानकारी दिए ।

पार्टी बैठकले मंसिर १७ गतेसम्म सहमतीको लागि निर्वतमान पार्टी सभापति लबश्री न्यौपानको संयोजक्तवमा पाँच सदस्यीय समिति समेत गठन गरेको छ । सहमती प्रयासको लागि पार्टीको नेता कृष्ण बहादुर महत, पार्टी जिल्ला कार्यसमिति सदस्य चिना खड्का (कार्की), क्षेत्रिय सभापतिहरु निरोज खड्का र राजेश कुमार श्रेष्ठ रहने गरी समिति गठन गरेको हो ।

सहमतीको लागि गठित समितिका प्रतिनिधिहरुले महाधिवेशन प्रतिनिधिहरुसँग बसेर छलफल चलाएर सहमतीको प्रयास जारी राख्ने छन् । मंसिर १७ गतेसम्म सहमतीको टुङ्गो नलागे मंसिर २३ गते निर्वाचन गरिने र सो निर्वाचनवाट महासमिति सदस्य चयन हुने नेपाली काँग्रेस रामेछापले जनाएको छ ।

Scroll to Top