रामेछाप । नेपाली काँग्रेस रामेछापको ११ जना महासमिति सदस्य पदका लागि २१ जना महाधिवेशन प्रतिनिधिहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीको २ वर्षअधि भएको जिल्ला अधिवेशनमा महासमिति सदस्यको टुङ्गो लगाउन बाँकी रहेकाले सदस्यको निर्वाचन गराउन अहिले नेपाली काँग्रेस पार्टीका पदाधिकारी लागेका हुन् । शनिवार पार्टी कार्यालयमा महासमिति सदस्य पदका लागि नेताहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ११ जना निर्वाचित हुने महासमिति सदस्य मध्ये खुल्ला ५ सदस्य १० जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक लक्ष्मण प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार महासमिति सदस्य पदका लागि उम्मेदवारी दिनेहरुमा पार्टी सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम), महाधिवेशन प्रतिनिधिहरू रामचन्द्र खड्का, अर्जुन केसी, भरत चौलागाई, युवराज भट्टराई, धुर्बहरी ढुङ्गेल, झपडराज भण्डारी, वीरबहादुर तामाङ, रत्न बहादुर कार्की र गेल्जे शेर्पा रहेका छन् ।
त्यस्तै खुला महिला तर्फ २ जना सदस्य पदको लागि ५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा मिना कार्की, गंगा अधिकारी, विनीता खड्का, उषा कार्की र एन्जिला न्यौपाने रहेका छन् । यसवाहेक खसआर्य पुरुष १ सदस्य पदका लागि दुईजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा महेश कार्की र केशव चालिसे रहेका छन् ।
त्यसैगरी आदिवासी जनजाति पुरुष १ सदस्य पदका लागि नरवहादुर थापामगर र जितेन्द्र मोक्तानले उम्मेदवारी दर्ता गराएका हुन् । यसवाहेक समावेशी तर्फ एकजना आदिवासी जनजाति महिला र एक दलित सदस्य पदमा भने एक÷एक जनाको मात्रै उम्मेदवारी परेको छ । जसमा महिला सदस्यमा कुमारी हायु र दलित सदस्यमा बलवहादुर दमाईको मात्रै उम्मेदवारी परेकाले उनीहरुको निर्विरोध निर्वाचित भइसकेकाले घोषणा मात्रै हुन वाँकी रहेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
नेपाली काँग्रेस महासमिति सदस्य पदका लागि निर्वाचन गराउन गठित निर्वाचन समितिले निकालेको निर्वाचन तालिकामा मंसिर २३ गते उम्मेदवारी दर्ता, २४ गते उम्मेदवारी विरुद्ध दाबी विरोध पेश गर्ने र नाम फिर्ता लिने समय तोकिएको छ । सदस्य पदमा उम्मेदवारी दर्ता गराएका सदस्यहरुले आफ्नो नाम फिर्ता नलिए सर्वसम्मत गराउन प्रयास गरिने छ ।
यदी सर्वसम्मत हुन नसक्ने अवस्थामा मात्रै पौष ६ गते निर्वाचन गराउने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । महासमिति सदस्य पदको निर्वाचनको लागि करिव १ हजार ४ सय १४ जना क्षेत्रीय प्रतिनिधिहरू निर्वाचन प्रक्रियामा सहभागीता जनाउने नेपाली काँग्रेस रामेछापले जनाएको छ ।