पूर्वराजा सक्रिय, प्रचण्डलाई पसिना

Posted on: November 21, 2016 | views: 3920

समाचार विश्लेषण
काठमाडौं, मंसिर ६ । केही हप्ता अघि सिंगापुर पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले गुमेको सत्ता फर्काएन चीन र भारतसँग कूटनीतिक संवाद अघि बढाएपछि नेपालका ठूला दलहरु सशंकित बनेका छन् । नेपाल चीन, भारत, युरोप र अमेरिकाको रणनीतिक महत्वको क्षेत्र बन्दै गएको देखिन्छ । नेपाली राजनीतिमा बढेको तरलता, अस्थिरता र अन्यौलको फाइदा उठाएर उनीहरुले विभिन्न दल मार्फत आफ्ना कामहरु गरिरहेको खुल्ला किताव बनेर आएको अवस्था छ ।
१० वर्ष पहिला गद्दीच्युत भएका राजा ज्ञानेन्द्र आप्mनो गुमेको राज्यसत्ता फिर्ता गर्न अहिले विभिन्न कूटनीतिक प्रयत्नमा रहेको खबरले आउँदा दिनहरुमा राजनीतिक दलहरुभित्र बढ्ने ध्रुविकरण र राजसंस्थाप्रति विदेशी कूटनीतिज्ञहरुको चासोले केही प्रश्नहरु खडा भएको छ ।
दलहरु मार्फत नै आआफ्नो स्वार्र्थ पूरा गर्न सक्ने अवस्था देखेका विदेशी शक्तिले वैकल्पिक शक्तिका रुपमा राजसंस्थाको भूमिकालाई अध्ययन गर्न थालेका छन् । एमालेका अध्यक्ष केपी ओलीले पूर्वराजा सिंगापुर पुगेर मंगलबार चीन भ्रमणमा गएको र चिनियाँ सेनासँग समेत वार्ता गरेको वताउँदै काठमाडौंस्थित चिनियाँ राजदूतसँग सरकारले यसबारेमा स्पष्टिकरण सोध्न चुनौति दिएका छन् ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा सिंगापुरबाट बाहिर गएको तर मलेसिया वा चीन कहाँ गए भनेर पत्तो नपाएको बताएका छन् । पूर्वराजाका निकट नातेदार र सहयोगीहरु भने पूर्वराजा सिंगापुरमै रहेको दावी गर्छन । नेपाली राजनीतिलाई प्रभावित पार्न सक्ने क्षमता भएपनि राजतन्त्रवादीहरुको बलियो संगठन र लोकप्रियता नभएका कारण पूर्वराजा कुण्ठित भएको कतिपयको विश्लेषण छ । पूर्वराजाका सचिवहरु फणिराज पाठक, सागरप्रसाद तिमल्सिना र पशुपतिभक्त महर्जन जस्ता व्यक्तिले क्षमतावान र योग्य व्यक्तिहरुलाई टाढै राखेर चाकडीवाजहरुलाई मात्रै काखी च्यापेर ज्ञानेन्द्रको सम्पर्कमा पुर्याउने हुँदा राजतन्त्र समर्थक योग्य र अनुभवी व्यक्तिहरु भूमिकाहीन भएको बताइन्छ ।
दलहरु आपसमा विभाजित र दिग्भ्रमित भएको अवस्थामा उनीहरुमा हीनतावोध बढ्दै गएको देखिन्छ । २०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन सम्पन्न हुन सक्ने अवस्था नभएकाले प्रमुख दलहरु संसदको आयु एक वर्ष थपेर आउँदा दिनहरुमा पनि आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको राजनीतिक विश्लेषकहरुको तर्क छ । सो स्थितिको फाइदा उठाएर पूर्वराजाले नेपालमा स्थायी शक्तिका रुपमा आफू स्थापित हुने प्रयत्न गरिरहेको बुझिन्छ ।
स्थानीय तहको संरचना स्पष्ट नभएको, कानूनहरु नबनेको र दलहरुबीचमै अन्यौल रहेको अवस्थामा छिमेकी देशले समेत नेपालमा आशंका र अन्यौल अरु बढ्ने विश्लेषण गरिरहेको अवस्था छ । पूर्वराजाका पक्षमा ठूलो जनमत नभएपनि विभिन्न दलका नेताहरुलाई तर्साएर ट्रमकार्डका रुपमा केही विदेशीले पूर्वराजालाई देखाएर दलहरुसँग वार्गेनिङ्ग गर्न सक्ने अवस्था देखिएको छ । मुलुकको ठूलो जनमतको प्रतिनिधित्व गर्ने दलहरु राजतन्त्रको विरुद्ध रहेको भएपनि अधिकांस जनताहरु धर्म, संस्कृति र राष्ट्रियताको संरक्षक राजसंस्था बन्न सक्छ कि भन्ने मानसिकता अझै रहेको पाइन्छ । यस्तो अवस्थामा पूर्वराजाको विदेश भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राजतन्त्र समाप्त भएको १० वर्षपछि पूर्वराजा सक्रिय भएर सार्वजनिक कार्यक्रममा भाषण गर्नुका साथै कूटनीतिक प्रयासलालाई निरन्तरता दिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरुलाई  पसिना आउन थालेको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयको औचित्य प्रमाणित गर्न नसकिरहेका दलहरुले राजतन्त्रको आगमनप्रति विदेशी कूटनीतिज्ञहरुले समेत देखाएको चासोलाई समेत सुक्ष्म रुपमा हेरिरहेका छन् । संसदको गतिरोध, महाभियोग, नागरिकता, भाषा, सिमांकन, पुनर्संरचनालगायतका विषयको विवादलाई पनि राजतन्त्र पुनस्र्थापनाका लागि विदेशीले निकालेको नयाँ किचलोका रुपमा बुझ्नेहरु धेरै छन् । संविधान कार्यान्वयन भएन भने दलहरु असफल हुने अवस्था स्पष्ट देखिन्छ । त्यस्तो अवस्थामा राजसंस्थाप्रति जनलहर बढ्दै गयो भने पार्टीका नेता र कार्यकर्ताले रोक्न सक्ने अवस्था रहदैन भन्ने विश्लेषकहरुको टिप्पणी छ ।


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com