एनआरएन मलेसियाको अध्यक्षमा न्यौपाने र तिवारीको उम्मेदवारी

Posted on: August 22, 2017 | views: 272

मलेसिया, ६ भदौ २०७४– मलेसियामा गैर आवासीय नेपाली सङ्घ मलेसियाको आगामी अगष्ट २७ तारिख आइतबार हुने महाधिबेशनका लागि उम्मेदवारी दर्ता भएको छ । एक हजार १ सय ९५ सदस्य रहेको एनआरएन मलेसियामा अहिले चुनावी माहोल तातेको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा खगेन्द्र न्यौपाने र रमेश प्रसाद तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, आइसिसि सदस्यमा एनसीसी मलेसियाका अध्यक्ष विश्वबिक्रम राई, एनसीसी मलेसियाकै पूर्व अध्यक्ष महेन्द्रजंग शाह र मलेसियामा रहेका विवादित व्यवसायी हरिप्रसाद भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । 

यसैगरि उपाध्यक्षमा सुभद्रा कुमारी लिम्बु, टेकबहादुर टमोटा र श्यामकला तिवारीले उम्मेदवारी दिएका छन् । यस्तै, महासचिव, सचिव, कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा एक एक जनाको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका छन् । 

महासचिवमा बर्तमान महासचिव लालबहादुर आले (सुन्दर), सचिवमा रञ्जित कुमार क्षेत्री, कोषाध्यक्षमा मिमलाल शर्मा (राजु), महिला संयोजकमा सुकमाया थापा (शान्ति) र युवा संयोजकमा ज्ञानेन्द्रबहादुर सिंह निर्विरोध भएका हुन् । 

यसैगरी १३ जना सदस्यका लागि २२ जनाको उम्मेदवारी परेको छ । सदस्यहरुमा रामचन्द्र नेपाल, हरिप्रसाद कोईराला, नन्दबहादुर क्षेत्री, अस्मिता सुवेदी, गणेश अधिकारी, बत्तम बहादुर, बलबहादुर राई, दिल कुमार केरुङ, सुवाश चन्द्र पौडेल, ईन्द्रनारायण लिम्बु, रामहरि सापकोटा, हेमराज सापकोटा, राजेन्द्रकुमार श्रेष्ठ, राजु ढुंगाना, डम्बर बहादुर रोकाया, श्रद्धा देवान र बिरेन्द्रकुमार नेगीले उम्मेदवारी दिएका छन् । 

हाल अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य रहेका न्यौपाने र एनसीसी मलेसियाका उपाध्यक्ष तिवारीले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । न्यौपाने र तिवारीमध्ये न्यौपाने बलिया उम्मेदवार रहेको मलेसियामा रहेका नेपालीहरु बताउँछन् । 

बैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा सङ्घको यो पाँचौ अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका न्यौपाने र तिवारी दुबै जना मलेसियामा झण्डै एक दशकअघि देखिनै विभिन्न व्यवसायमा संलग्न छन् ।

न्यौपाने करिब १२ वर्षदेखि मलेसियामा व्यवसाय गर्दै आएका छन् । मलेसियामा कानुनी, सामाजिक, आर्थिक, राजनीतिक लगायतका झमेलामा परेर पीडामा परेका नेपालीहरुलाई आफूले सहयोग गर्दै आएको उनी बताउँछन् । आगामी दिनमा अझ सक्रियताका साथ नेपाली समुदायको हितमा काम गर्न उम्मेदवारी दिएको न्यौपानेले बताए ।

अध्यक्षमा निर्वाचित भएपछि मलेसियाका मुख्य–मुख्य शहरहरु जोहरबारु, पेनाङ लगायतका स्थानमा एनआरएनको क्षेत्रीय कमिटी गठन गर्ने, नेपाली कामदारलाई दिइने न्यूनतम पारिश्रमिकको सीमा बढाउन मलेसिया सरकार सँग छलफल गर्ने, मलेसियाको जेलमा रहेका नेपालीहरुका बारेमा दुतावाससँग सहकार्य गरी तथ्याङ्क सङ्कलन गरेर नेपाल फर्काउन पहल गर्ने, मलेसियाको श्रम र परराष्ट्र मन्त्रालयसँग छलफल गरी बैधानिक रुपमा रहेका नेपालीहरुले समेत दुःख पाउने गरेकोमा त्यसको अन्त्यका लागि पहल गर्ने न्यौपानेले प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली कामदारप्रतिको मलेसिया सरकारको व्यवहार लचिलो बनाउन राजदुतावाससँग सहकार्य गर्दै आफुले पहल गर्ने न्यौपानेले बताए ।

उनले युरोप, जापान, अष्ट्रेलिया, अमेरिकालगायत देशका एनआरएनले गरेको कामजस्तै गरेर मलेसियाको एनआरएनलाई शिखरमा पु¥याउने बताए । उनले आफु एनआरएनमा लिनका लागि नभइ केहि दिनका लागि आएकोले सबैलाई सहयोग गर्न समेत आग्रह गरे । अन्तर्राष्ट्रिय समन्वय समितीका सदस्य समेत रहेका न्यौपानेले आफु आफ्नो इच्छामा भन्दा पनि मलेसियामा रहेका हजारौं नेपालीको आग्रहमा उम्मेदवार बनेको बताए । उनले यहाँका प्रवासी नेपालीले आफुलाई विश्वासका साथ नेतृत्व सुम्पन चाहेकाले अन्तर्राष्ट्रिय समन्वय समितीको सदस्य भए पनि एक पटक एनसिसि मलेसियाको अध्यक्ष बनेर मलेसियामा रहेका नेपालीहरुको दुःख र सुखमा साथ दिन चाहेको बताए ।

यता, अध्यक्षका अर्का प्रत्यासी रमेश तिवारीले आफु उपाध्यक्ष भएर काम गरेको अनुभवका आधारमा अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । आफुले नेपाली कामदारकै हक हितका लागि उम्मेदवारी दिएको बताए । तिवारी २०१५ मा एनआरएनको केन्द्रीय कार्यालय निर्माणका लागि बोलेको रकम एक लाख ५१ हजार एक सय ११ दुई बर्षसम्म नदिएकाले विवादमा आएका थिए । तिवारी मलेसियाका अर्का विवादित व्यावसायी हरी भट्टराई समर्थित उम्मेदवार भएकोले उनको तिब्र आलोचना भएको छ । 

उम्मेदवारी घोषणा सँगै दुवै अध्यक्षका उम्मेदवारहरु चुनाव आफ्नो पक्षमा पार्नका लागि सक्रिय भएर लागेका छन् । दुवै अध्यक्ष बाजि मार्न दौडधुप गरेपनि न्यौपानेको पल्ला भारी भएको मलेसियामा रहेका एनआरएनका संस्थापकहरु र सङ्घसंस्थाका प्रतिनिधिहरुले बताए । न्यौपाने आइसीसी सदस्य भएर उल्लेखनिय काम गरेका कारण नै उनको पल्ला भारी भएको बिश्लेषकहरु बताउँछन् । 

उम्मेदवारहरुको दावी बिरोध भए मंगलबार पाँच बजेसम्म दिन निर्वाचन समितिले तोकेको छ । निर्वाचन समितिमा रामचन्द्र गिरी संयोजक र सदस्यहरुमा योगेन्द्र कुँवर, अनन्त राई, सन्तोष पराजुली, सुनिल दाहाल रहेका छन् । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com